गगन थापा भन्छन्: रवि सहकारी प्रकरणमा प्रमाण भएरै नौ घण्टा बयान दिनु परेको हो

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा रवि लामिछानेले प्रमाण भएर नै नौ घण्टासम्म बयान दिनुपरेको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्ने क्रममा उनले प्रमाण भएर नै संसदमा संघर्ष गरेर समिति बनाइएको र समितिमा लामिछानेले ९ घण्टासम्म बयान दिएको बताएका छन् ।

उनले भने, केही दिनदेखि संसद्मा केही साथीहरुले प्रमाण खोई ? प्रमाण खोई ? भनेर खोजिराखेको पाएँ । त्यत्रो तथ्य र प्रमाणहरु भएर त होला सम्माननीय सभामुख महोदय, यत्रो संसदमा संघर्ष गरेर समिति बनाईयो । थापाले समितिमा आफूहरुले प्रमाण दिएको उल्लेख गर्दै टीओआरमा कम्पनीको नाम लेख्न लगाएको बताएका छन् ।

उनले भने, ‘हामीसँग भएका तथ्य र प्रमाणहरु समितिमा पुगेनन् होला ? हाम्रा साथीहरुले बोकेर जानुभएको छैन होला ? अनि यसमा ख्याल गर्नुभएन ? ९ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य र प्रमाण भएको कारणले आएको होइन होला ?’

आफूलाई सहकारी ठगीबारे गठित संसदीय समितिमाथि आफूलाई पूरा विश्वास भएको बताउँदै थापाले समितिले प्रमाणका आधारमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘‘बरु साथीहरु झुक्किनुभयो कि जस्तै लागेको छ मलाई, बयान हो बयान, फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसिरहेको छु । तथ्य र प्रमाणको आधारमा फैसला आउँछ भनेर कुरेर बसिरहेको छु ।