नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव

काठमाडौँ । संसदीय समितिमा सांसदहरुले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचन र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिसमशेर जबराले यस्तो प्रस्ताव राखे । सांसदहरुले सरकारले वायुसेवा निगम चलाउन नसकेको भन्दै निजीकरण गर्नुपर्ने प्रस्ताव समितिमा राखे । उनहरुले निगम आर्थिक रुपमा कमजोर बन्दै गएको र निगमले जहाज सञ्चालन गर्न सक्ने अवस्था नभएको भन्दै निजीकरण गर्नुपर्ने प्रस्ताव गरे ।

भारत जस्तो ठूलो देशमा एयरइण्डिया निजी कम्पनीले सञ्चालन गरेको उदाहरण दिँदै नेपालमा पनि त्यही मोडलमा जाँदा केही समस्या नहुने सांसदहरुको धारणा थियो । सांसदहरुले नेपाल वायुसेवा निगम सुधारको एउटा मात्रै विकल्प निजीकरण वा निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिनुपर्ने बताए । सांसदहरुले निजी कम्पनीका जहाजहरु अहिलेसम्म ग्राउण्डेड भएका समाचारहरु सुन्न नपर्ने तर नेपाल वायुसेवा निगमका चार वटा जहाजमा ३ ग्राउण्डेड भनेर सधैँ सुन्नुपर्ने अवस्था रहेको बताए । उनीहरुले एउटा जहाज एक महिनाभित्र सि चेक भएर नेपाल आउनुपर्ने भए पनि चार पाँच महिनासम्म आउन नसक्नुको निगम अध्यक्षसँग कारण माग गरे ।

नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले निगमले हवाई जहाज चलाउन नसकेको दाबी गरे । उनले भारतमा पनि एयर इण्डियाले चलाउन नसक्दा टाटा एयरलाइन्सले सञ्चालन गरेको उदाहरण रहेको भन्दै त्यही मोडलमा नेपाल जान आवश्यक रहेको औँल्याए । उनले सरकारले चलाउन नसक्ने भए सरकारले प्रक्रियागत रुपमा निजी क्षेत्रलाई दिनुपर्ने बताए । उनले नेपाल वायुसेवा निगम सरकारले चलाउँदा चल्न नसकेको स्पष्ट देखिएकाले प्राधिकरणको नेतृत्वले निजी क्षेत्रलाई चलाउन दिने प्रस्ताव ल्याउनुपर्ने बताए ।

उनले हिमालय एयरलाइन्ससँग चार वटा जहाज रहेको भए पनि त्यसमा अहिलेसम्म समस्या आएको भन्ने सुन्नमा नआएको बताए । उनले चीन सरकारको सहयोग रहेकाले भारतमा उडान गर्न नसके पनि अन्य २० देशमा उडान गरिरहेको बताए । उनले जहाज सि चेकको समस्या अहिलेसम्म नसुनिएको भन्दै बराबर जहाज हुँदा पनि नेपाल एयरलाइन्समा समस्या बढी समस्या मात्रै आउने गरेको भन्दै सरकारले हिमालय एयरलाइन्सलाई जिम्मा दिनुपर्ने धारण राखे ।