सेफ्टी टंकीमा निसासिंदा नवलपरासीमा तीन जनाको मृत्यु


परासी, भदौ १४ गते । निर्माणाधिन सेफ्टी ट्यांकीमा निसासिएर तीन जनाको मृत्यु भएको छ । पूर्वी नवलपरासीको बिनय–त्रिवेणी गाउँपालिका–७ रानिनगरस्थित भोलासिंह क्षेत्रीको घरमा नयाँ निर्माण भइरहेको सेफ्टी ट्यांकीमा निसासिएर शुव्रmबार दिउँसो तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
मृत्यु हुनेमा घरभेटीका ३८ वर्षिय छोरा प्रकाश सिंह क्षेत्री, सोही ठाउँ बस्ने छिमेकी १९ वर्षिय गणेश बोगटी र सेफ्टी ट्यांकी बनाउने मिस्त्री बर्दघाट नगरपालिका–७ मोहम्मद राजा रहेका छन् ।
निर्माण कार्य सकिएपछि सामान निकाल्न सेफ्टी ट्यांकीको माथिको प्वालभित्रबाट सुरुमा मिस्त्री मोहम्मद गएका थिए । उनी निसासिएपछि उद्दारका लागि प्रकाश गएको र दुबै जना निसासिएपछि अन्तिममा गएका गणेशसमेत निसासिएका थिए । तिनै जना निसासिएको खबर पाउन साथ अक्सिजनसहित पुगेको प्रहरी टोली र स्थानीयले उनीहरुलाई बाहिर निकालेका थिए । बेहोस अवस्थामा रहेका उनीहरुलाई उपचारका लागि अस्पताल पठाएकोमा प्रकाशको पृथ्वीचन्द्र अस्पताल र अन्य दुई जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
























