लुम्बिनी अस्पतालको भवन शिलन्यास, गुणस्तरमा सम्झौता हुदैन – अर्थमन्त्री विष्णु पौडेल

बुटवल, भदौ १५ गते । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको भवन शिलन्यास गरिएको छ । लुम्बिनी प्रदेश सरकारको मुख्य गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको शनिवार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गरेका हुन् ।

  शिल्यासपछि आयोजित कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा प्रदेशको राजधानी भएन भनेर गुनासो नगर्न आग्रह गरेका छन् । राजधानी भएन भनेर गुनासो गर्नुभन्दा विकास निर्माणका काममा लाग्नु पर्ने बताउंदै भोलीको रुपन्देही कस्तो बनाउने भन्ने आफुसंग योजना रहेकाले चिन्ता नगर्नसमेत आग्रह गरे ।

उनले जनताको अवस्था परिवर्तनका लागि अहिलेको गठबन्धन बनेको उल्ल्ेख गर्दै उनले भने मुलुकको अर्थतन्त्र सुधारन वर्तमान गठबन्धन बनेको दावी गरे । अस्पतालको भवन निर्माणका लागि गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको भवन बनेपछि स्वास्थ्य क्षेत्रमा परिवर्तन आउने बताए ।

भवन शिलान्यासका अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले नयां बन्ने अस्पतालको भवनले आधुनिक अस्पतालको आवश्यकतालाई पूरा गर्ने दावी गर्दै यो भवन समयमा सम्पन्न गरेर सेवा दिनुपर्छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले अस्पतालको हालको अवस्थाबारे जानकारी गराउंदै स्तरोन्नतीपछि नमूना अस्पताल बन्ने बताए ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलको संचालनमा कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, निवर्तमान मुख्यमन्त्री जोखबहादुर महरा, लुम्बिनीका पुर्व स्वास्थ्यमन्त्री एवं प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे लगायतले बोलेका थिए ।

प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत ६ अर्ब १८ करोड ७५ लाख रुपैयांको लागतमा बन्ने १२ तले अस्पतालको भवन सनिवार शिलान्यास गरिएको हो । लुम्बिनी प्रदेश सरकारको लागतमा निर्माण हुने उक्त भवनको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगशनंग २०८० पुस २६ गते ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने छ ।

१९६७ फागुन १५ गते ६ शैयाबाट सुरु गरिएको यो अस्पतालको २०१६ सालमा निर्माण गरिएको भवन जिर्ण बनेपछि सोहि भवन भत्काएर अत्याधुनिक सेवासुविधा सहितको भवन निर्माण गर्न लागिएको हो । प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको लागि चालू आर्थिक बर्षमा एक अर्ब ८० करोड बजेट बिनियोजन गरिसकेको छ । २०७६ सालमा प्रदेश सरकारको ड्रिम प्रोजेक्टको रुपमा अस्पताल भवन बनाउने प्रक्रिया अगाडी सारिएको थियो ।

अस्पताल भवनको डीपीआर अनुसार १२ तले अत्याधुनिक भवनमा बहिरंग सेवा, आपतकालीन सेवा, इनडोर सर्भिस कक्ष रहनेछन् । त्यस्तै ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन् । भवनको माथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ । क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ । बुटवल उपमहानगरपालिका वडा नं. ९ स्थित ६ बिघा १२ कठ्ठा जग्गामा संचालित अस्पतालमा नयां भवन निर्माणपछि अत्याधुनिक पूर्वाधारसहितको प्रदेशकै अब्बल अस्पताल बन्ने छ ।

एकसय १४ वर्ष पुरानो यो अस्पताल २०७५ साल माघमा लुम्बिनी प्रदेश सरकार मातहत आई लुम्बिनी प्रादेशिक अस्पताल बनेपछि ५ सय २० शैया पुगेका छन् । दैनिक दुई हजारदेखि बाइस सयसम्म बिरामीहरु उपचारका लागि आउने यो अस्पतालमा सामान्य अवस्थामा पनि ८० प्रतिशत बढी बेडहरु बिरामीले भरिने गर्छन् ।
सरकारी तीन सय र अस्पताल विकास समितिमार्फत् एक सय गरी चार सय बेडको मात्र स्वीकृति पाएको अस्पतालमा बिरामीहरुको अत्यधिक चापका कारण १ सय २४ बेड थप गरी ५ सय २४ बेडबाट बिरामीहरुलाई सेवा दिईएको छ ।

अस्पतालबाट गत आर्थिक वर्ष २०८०÷८१ मा साढे चारलाख हाराहारी विरामीेले सेवा लिएका छन् ।