रुपन्देहीमा डेंगु संक्रमण बढ्दै, सचेत हुन आग्रह

   बुटवल, भदौ १८ गते । रुपन्देहीमा डेंगु संक्रमण बढ्दै गएको छ । दिन प्रतिदिन डेंगु संक्रमण फैलिन थालेपछि रुपन्देहीमा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको ।
डेंगु नियन्त्रण तथा रोकथामका लागि रुपन्देहीका १६ वटै स्थानीय तहमा खोज र नष्ट गर अभियानलाई तीव्रता दिव्रता दिईएको छ ।

रुपन्देहीमा गत बैशाखदेखि यही भदौ १६ गतेसम्म १ सय ९८ जनमामा डेंगु संक्रमण भेटिएपछि खोज र नष्ट गर अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत तथा सूचना अधिकारी भेषराज शर्माले जानकारी गराए ।

डेंगु रोकथाम तथा नियन्त्रणका लागि १६ वटै पालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयसेवीका, जनप्रतिनिधि, आमा समूह, विभिन्न क्लवहरु, विद्यालयका प्रतिनिधि र सरोकारवालाहरु खोज र नष्ट गर अभियानमा लागेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । यही घदौ १५ र १६ गते १३ जनामा डेंगु संक्रमण भेटिएपछि सम्भावित ठाउंको पहिचान गरी सरसफाई गर्न थालिएको छ । वर्षातका कारण पानी जमेका ठाउंहरुमा संक्रमण फैलिने गरेको छ ।

रुपन्देहीको बुटवल, तिलोत्तमा, देवदह, भैरहवा, सैनामैना, लुम्बिनीलगायतका क्षेत्रमा अहिले संक्रमण पाइएको छ । समुदायमा संक्रमण फैलिएसंगैं अस्पतालमा बिरामीको चाप बढेको छ । अहिले डेंगु तराईमा मात्र नभएर पहाडी जिल्लामा समेत फैलिन थालेको छ । विभिन्न अस्पतालका अनुसार रुपन्देहीमा संक्रमण बढ्दो क्रममा छ ।

जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका सूचना अधिकारी भेषराज शर्माका अनुसार थप वर्षात भएपछि सफा पानी जमेका स्थानमा डेंगीको लार्भा हुर्किने र त्यसबाट संक्रमण फैलिन सक्ने भएकाले त्यस्ता ठाउंलाई बढी निगरानी गरिएको छ । संक्रमण ह्वात्तै फैलिने सक्ने सम्भावना रहेकाले अस्पतालमा आईसीयू बेड र आवश्यक उपचार सामग्री तयारी अवस्थामा राख्न जिल्ला प्रशासन कार्यालयबाट निर्देशन भएको छ ।

अहिले बुटवल उपमहानगरपालिकामा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । भैरहवास्थित भीम अस्पतालका सूचना अधिकारी तथा बाल रोग विशेषज्ञ डा. आरिफ हुसेनले अस्पतालमा भर्ना गर्नुपर्ने संक्रमितको संख्या कम छ । गम्भीर अवस्थाका नआए पनि २–३ दिनको अन्तरालमा संक्रमित आइरहेको हुसेनले जानकारी गराए ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा सबै भन्दा बढी डेंगुको जोखिम बुटवलमा छ । गत साउनमा मात्रै बुटवलमा ९१ जनामा डेंगु संक्रमण भेटिएको थियो । त्यस्तै तिलोत्तमा र भैरहवामा डेंगुको जोखिम छ । डेंगु संक्रमणबाट जोगिन स्वास्थ्य कार्यालय रुपन्देहीले सबैलाई आग्रह गरेको छ ।