आज दर खाने दिन, तीज पर्व शुरु

बुटवल । हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज हिन्दु धर्मालम्बी महिलाहरु दर खाने तयारीमा जुटेका छन् । दरखाने दिनसँगै तीज पर्व आजदेखि शुरु भएको छ । तीजको व्रत बस्ने अघिल्लो दिन दर खाने परम्परा रहि आएको छ । भोलिपल्ट तीजको दिन केही पनि नखाई निराहार व्रत बस्ने भएकाले शरीरलाई चाहिने पोषक तत्वको कमी नहोस् भनेर अघिल्लो राति दर खाने प्रवचल चल्दै आएको हो ।

तर परम्परागत दरखाने तरिकामा परिवर्तन आउन थालेको छ । तीजको अघिल्लो दिन खाइने दर अहिले काम गर्ने ठाउँ, साथी, नातागोता वा संघसंस्था सबै ठाउँमा सम्मानपूर्वक दर खुवाइने गरिएको छ । तर पनि दर खाने भनेको तीजको व्रत बस्ने पहिलो दिन नै मानिन्छ ।

विशेषगरी माइतीमा छोरीचेलीहरुलाई बोलाएर दर खुवाउने चलन छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई भोलिको व्रतका लागि पूर्व तयारी गर्छन् ।

दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइने गरिन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीजको समापन गरिन्छ । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमको भनाई छ ।

महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरिन्छ । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गएर बस्दा पाएका दुःख, पीरलाई नारीले पोख्ने पर्वको रुपमा पनि तीजलाई चिनिmन्छ ।

पछिल्ला वर्षहरुमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक देखिन थालेको छ । एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको सरोकारवाला बताउँछन् ।

यस्ता गतिविधिले समाजभित्र रहेका विपन्नता वर्गहरुलाई नैराश्यत बनाउने भएकाले पनि विकृति रोकिनुपर्ने संस्कृतिविद्, धर्मशास्त्रीहरु बताउँछन् । एक महिनाअघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीयरुपमा दर खाने दिनका लागि तोकिएको छ ।