बुटवल गोरुसिंगे सडक विस्तारः फास्ट ट्रयाक र जोखिम न्यूनिकरणको नयाँ मोडालिटी

बुटवल । बुटवल–नारायणगढ सडक बिस्तारका क्रममा भएका ढिला सुस्तिलाई मध्यनजर गर्दै जोखिम र यात्रुहरुलाई सहज आवागमन बनाउने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बुटवल–गोरुसिंगे सडक विस्तारमा नयाँ मोडालिटी बनाउने भएको छ । निर्माणाधिन सिद्धाबा सुरुङमार्ग, बुटवल–नारायणगढ सडक बिस्तार लगायतका योजनाहरुको स्थलगत निरीक्षमा आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नयाँ मोडालिटीमा सडक बिस्तार गर्ने बताएका हुन् ।

विगत ६ वर्षदेखि विस्तारको काम भैरहेको बुटवल–नारायणगढ सडकमा यात्रुले धुलाम्मे र हिलाम्य भएर भोग्नु परेको समस्यालाई ध्यानमा राखेर बुटवल–गोरुसिंगे सडक विस्तारलाई नयाँ तरिकाले निर्माणकार्य गरिने बारेमा निर्माण कम्पनीलाई ब्रिफिङ गराइएको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए । ‘बुटवल नारायणगढ सडक बिस्तार गर्दा निर्माण कम्पनीले सुरुमै बीचको पीच सडक उप्काएर फाल्दा यात्रुलाई धेरै सास्ती भयो । अब बुटवल गोरुसिंगे सडक बिस्तार गर्दा त्यस्तो गर्ने होइन, पहिले छेउछाउका सडक मर्मतको काम गरेर पछि बीचको पीच सडक उप्काउने गरी काम गर्नेछौं उनले भने ।

बुटवल नारायणगढको सडक बिस्तारमा भएको ढिला सुस्ती र निर्माण कम्पनीले गलत ढंगले निर्माण कार्य अघि बढाउँदा सरकारले आलोचना खेप्नु परिरहेको बताईएको छ । कामको गति बढाएर यस्तो समस्याको हल खोज्नेभन्दा सरकारले थप सडकमा समेत भद्रगोल अवस्था सिर्जना गरेको भन्दै जनगुनासो बढ्न थालेको छ । उक्त समस्या र आलोचनालाई सुझावको रुपमा लिएरु नयाँ विधिबाट निर्माण कार्यलाई अघि बढाउन खोजिएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बताएका छन् ।

सडक विभागले बुटवलदेखि कपिलवस्तुको गोरुसिंगेसम्म ५० किलोमिटर र गोरुसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर गरी सडक निमार्णको प्रक्रिया अघि बढाएको छ । बुटवलदेखि गोरुसिंगेसम्मको ५० किलोमिटर सडक २ वटा प्याकेजमा ठेक्का लगाइसकेको छ। गोरुसिंगेसम्मको काम सुरु भएसँगै चन्द्रौटासम्म ठेक्का लगाउने तयारी रहेको छ।

बुटवल गोरुसिंगे चन्द्रौटा सडक आयोजनाका अनुसार चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले ठेक्का पाएको छ। १३ अर्ब ५५ करोड रुपैयाँमा ठेक्का लागेको हो। महानिर्देशक पोखरेललले २ वटा खण्डमा ठेक्का लगाए पनि एउटै कम्पनीले ठेक्का पाएको बताए ।