बुटवलको चौपारीमा तीजको मौलिक रौनक, झण्डै सात हजारको उपस्थिती


बुटवल । हिन्दु नारीहरुको महान चार्ड हरितालिका (तीज) आज देशभर मनाइएको छ । बुटवलको देविनगर चौपारीमा पनि मादलसहितको मौलिक नाचगान गरेर तीजलाई मनाइएको हो । स्थानीय जी २५ क्लवको आयोजनामा गरिएको खुल्ला तीज गीत कार्यक्रममा महिलाहरु मादल, खैचडीहरु बोकेर आएका थिए । बुटवल उपमहानगरपालिका वडा न ११ देविनगर चौपारीमा खुल्ला तीज गीत कार्यक्रम आयोजना गरिएको थियो । झण्डै सात हजार जनाको उपस्थिती रहेको आयोजकले बताएको छ ।

तीज महिलाहरुद्वारा मनाइने एउटा पर्व हो । आधुनिक समाजमा तीजको महत्त्वलाई जुन रुपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरु विवाह पश्चात् श्रीमानको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर छोडेर पराईघरमा जीवन बिताउँदा माइतीको याद र भोगेका दिनहरुलाई विसाउने अवसरको रुपमा तीज पर्व बुझिन्छ ।
२०७३ सालमा क्लव दर्ता भई प्रत्येक वर्ष तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्दै आएको क्लवका सचिव रेशमवहादुर महराले बताएका छन् । क्लवका अध्यक्ष जगदिश न्यौपाने विगत १० वर्षदेखि यस ठाउँमा नाचगान गराउँदै आएको वताए । हामीले डिजेबाट गीत बजाएर नाचगान गर्ने बिल्कुलै दिदैनौं, सनातन हिन्दु धर्म संस्कृति, रितिरिवाज र परम्परालाई थप प्रभावकारी बनाउने गरी छुट्टाछुट्टै ग्रुप बनाएर मादलमा नाच्ने प्रवन्ध मिलाएका छौं ।

पछिल्लो समय हाम्रा संस्कृतिहरु मनाउने क्रममा प्रविधिको प्रयोगले मौलिक बाजा र गीतहरु गाएर नाचगान गर्ने चलन हराउँदै गएकाले पश्चिम नेपालको व्यापारीक केन्द्रको रुपमा विकसित हुँदै गएको बुटवलमा तीजलाई मौलिक संस्कृतिको रुपमा मनाउने एउटा सन्देश दिने गरी वडामा रहेको क्लवलाई सोही प्रकारले सहयोग गरिएको बुटवल उपमहानगरपालिका वडा न ११ वडासदस्य नकुल शाहीले बताए । उनले भने हामीले क्लवलाई डिजेबाट भन्दा पनि मादल, खैचडी लगायतको प्रयोग गरी तीजको महत्त्वलाई संरक्षण, प्रवर्द्धन गर्न नेपालकै पहिलो वडाको रुपमा स्थापित हुनेगरी लागेका छौं ।
तीजमा महिलाहरुलाई मीठा मीठा भोजनका परिकारहरु खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरुलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वले ठूलो भूमिका खेलेको पाइन्छ । तीजमा विवाहिता महिलाहरु आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको कामना गर्दै बर्त बस्ने गर्दछन् ।
तीजको वर्त अन्य बर्त भन्दा फरक ढङ्गले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई बर्त बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफूल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।






















