तेत्तिस बर्षपछि लुम्बिनीका सांसद केसी जेल चलान


दाङ । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । रुकुम पूर्वको प्रदेशसभा (ख) बाट निर्वाचित केसी ३३ वर्षअघि जिल्ला अदालत रुकुमले दोषी ठहर गरेको कीर्ते मुद्दामा कारागार चलान भएका हुन् ।

यसअघि प्रहरीको फरार सूचीमा रहेकै अवस्थामा विसं. २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सांसद केसी निर्वाचित भएका थिए । अदालतले दोषी ठहर गरेका व्यक्ति प्रदेशसभा सदस्य भएको भन्दै चौतर्फी विरोध भएपछि केसीले आइतवार रुकुम पूर्व जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् । उनलाई कारागार चलान गरिएको रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिए ।
श्रीमतीसँगको अंश मुद्दामा कीर्ते गरेको भन्दै २०४८ असार ९ गते अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । सम्बन्ध विच्छेदको मुद्दामा नक्कली कागजात पेश गरेको भन्दै श्रीमती राधा केसीले जाहेरी दिइएको बुझिएको छ । सोही मुद्दामा दोषी ठहर भएका केसी कैद भुक्तान नगरी बसेका थिए ।

विसं. २०७५ साल वैशाख ३१ गते रुकुम पश्चिम जिल्ला अदालतले केसीविरुद्ध पूर्व फैसलाअनुसार कारबाही नभएको भन्दै रुकुम पूर्वी जिल्ला अदालतका नाममा त्यसबारे पत्राचार गरेको थियो ।






















