सारङ्गी रेट्ने ‘लालबहादुर’


बुटवल । झुत्रो झोला, त्यो पनि टालेको, हातमा सारङ्गी । सारङ्गी रेट्दै घरघरमा मिठो धुन सुनाउँदै हिँड्ने सल्यान खलङ्गाका ५५ वर्षीय लालबहादुर गन्धर्व अझैपनि गीत गाउँदै हिड्छन् । हाल दाङको घोराहीमा क्षेत्रमा आइपुगेका छन् । उनले आफ्नोे पुख्र्यौलीलाई अंगाल्दै आएका छन् । ४० वर्षदेखि आफुले “सारङ्गी रेटेर धुन बजाउँदै गीत गाउन थालेको उनको भनाई छ ।

सल्यान, दाङ, रोल्पा, रुकुम र काठमाण्डौँ लगायतका शहर तथा बस्तीमा पुगेर सारङ्गी बजाएर गीत गाउने गरेको उनि बताउँछन् । घरमा सानै उमेरदेखि बाउबाजेबाट सारङ्गी रेट्ने सीप सिकेका लालबहादुर १५ वर्षको उमेरदेखि सारङ्गी बोकेको सुनाए । सारङ्गी बजाउँदा आफू अझै जवान छु जस्तो लाग्छ, सारङ्गीको घुन निकालेपछि झन् जोशजाँगर बढेर आउँछ, उनले भने ।
हिजोआज कसैले राम्रो मानेर गीत सुन्न खोज्छन् त कसैले सुन्न चाहदैनन् । जग्गा जमिन केही नभएको बताउँदै लालबहादुरले सारङ्गीको धुन र गीत गाएरै परिवारको जिविका चलाउँदै आएको बताए । सात वटी छोरीमध्ये पाँचको विवाह गरिसकेको र दुई छोरी तुलसीपुर– १७ स्थित मावि दुधरासमा कक्षा आठ र ११ मा पढ्दै गरेको बताए । आफूले नपढे पनि छोरीहरुलाई पढाउने सोचार्इमा अझै पनि यो पेशालाई अंगाल्दै आएको जनाए । गीत गाएर दिनमा एक हजारदेखि तीन हजारसम्म कमाउने उनको भनाई छ ।

समाजबाट लोप हुँदै गएको गन्धर्व जातिको पुरानो मौलिक संस्कृति धान्न गाउँगाउँमा पुग्ने गरेको उनि बताउँछन् । अहिलेसम्म घुमेको ठाउँमा रोल्पा सबै भन्दा राम्रो लागेको उनको स्मरण छ। रोल्पामा गाइने आयो भने चाडवर्प आए जस्तो हुन्छ भनेर सिदा (चामल, दाल) दिने गरेको बताए । पछिल्लो समय सारङ्गी बजाउन आफ्ना नयाँ पिँढीहरुले चासो नदिँदा गन्धर्व पेशा लोपन्मुख हुँदै गएकोप्रति चिन्ता गरे ।
उनले थपे, “मेरा छोरीहरुले बजाउँदैनन् म पछिको पुस्ताले सारङ्गी छुदैनन्,”। नेपालको मौलिक कला संस्कृतिलाई जर्गेना गर्न आफ्ना पुर्खाहरुले यहि पेशालाई मुख्य पेशाको रुपमा बनाएर जिविकोपार्जन गर्दै आएको भन्दै यसेको संरक्षणमा राज्यका सम्बिन्धत निकायहले चासो दिनुपर्ने सुझाए । पछिल्लो समय सारङ्गी रेटेर गाउँगाउँमा गीत गाउँदै हिँड्ने गन्धर्वको सङ्ख्या घट्दै गएको जनाउँदै केही पाकापुस्ताले संस्कृतिलाई बचाउन जेनतेन गर्दै आए पनि गन्धर्व समुदायका युवापुस्ताहरुले चासो नदिएने गरेको बताए ।






















