बुटवलमा सञ्चार ग्राम बनाउने


बुटवल, भदौ २६ गते । बुटवल उपमहानगरपालिकाले रुपन्देहीको बुटवलमा सञ्चार ग्राम निर्माण गर्ने योजना बनाएको छ । बुटवल क्षेत्रमा रहेका सञ्चारगृहरुलाई एकीकृत रुपमा एकै ठाउंमा राख्नका लागि बुटवल उपमहानगरपालिकाले सञ्चार ग्रामको अबधारण ल्याएको हो ।

राज्यले मिडियालाई चौथौ अंगको रुपमा परिभाषित गरेपनि अहिलेसम्म संघीय, प्रदेश र कुनैपनि स्थानीय सरकारले सञ्चारगृहरुको संरक्षणका विषयमा कार्यक्रम नल्याएको अवस्थामा बुटवल उपमहानगरपालिकाले सञ्चार ग्रामको अवधारण ल्याएको हो ।
सञ्चार ग्राम निर्माणका लागि केही बजेट सम्बोधन गरिएको र समयको माग अनुसार आवश्यक अनुसार बजेट बिनियोजन गरेर सञ्चार ग्राम निर्माण गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । यो वर्ष सञ्चार ग्रामको व्यवस्था गर्ने र त्यसका लागि जग्गाको खोजीमा लागिएको प्रमुख पाण्डेयले बताए ।

सञ्चार ग्राम निर्माणको विषयमा सञ्चारगृह सञ्चालकहरुसंग औपचारिक छलफल गरेर सञ्चार ग्रामलाई व्यवस्थित गरी सञ्चार क्षेत्रको संरक्षण गर्ने योजना रहेको उनले बताए ।
छरिएर रहेका सञ्चार गृहरुलाई एक ठाउंमा राखेर सञ्चार गृहहरुले खेप्दै आएको आर्थिक भारलाई कम बनाउने र सञ्चारकर्मीहरुलाई पनि पेशागत रुपमा सुरक्षित बनाउने आफ्नो योजना रहेको प्रमुख खेलराज पाण्डेयको भनाइ छ ।























