अर्थतन्त्रमा दुई वर्षदेखि सुधारः गभर्नर


पाटन । नेपाल राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताएका छन् । नेपाल खुला विश्वविद्यालय र कार्डिफ विश्वविद्यालयको संयुक्त आयोजनामा आज ललितपुरमा आयोजना भएको “अर्थशास्त्र, वित्त र सम्बन्धित विषयमा आधारित अन्तर्राष्ट्रिय सम्मेलन“ मा गभर्नर अधिकारीले भूकम्प र कोभिडपछि खस्किएको नेपालको अर्थतन्त्र क्रमशः सुधार हुँदै पछिल्लो दुई वर्षमा निर्माण, उद्योग र व्यापारको क्षेत्रले बढी प्रगति गरेको बताएका हुन् ।

“नेपालको वित्तीय सुधारसँगै राष्ट्र बैंकले मौद्रिक नीतिमा महत्वपूर्ण परिचालन सुधारको यात्रा पनि अघि बढाएको छ । २०१६–१७ मा ब्याज दर करिडोरको शुरुआत र २०२०–२१ मा रिजर्भ लक्ष्यबाट ब्याज दर लक्ष्यतिर सर्दै मौद्रिक नीति प्रसारणको प्रभावकारिता बढाउने उद्देश्यले यी परिचालन सुधारहरु क्रमशः हुँदै आएको छ’’ उनले भने, “प्रभावकारी तरलता व्यवस्थापनका लागि २०२३–२४ मा स्थायी निक्षेप सुविधा, हालैका नीतिगत सुधारहरू, मौद्रिक नीति सञ्चालनको आधुनिकीकरण, ऋणको गुणस्तर अभिवृद्धि, डिजिटल बैंकिङ र फिनटेकलाई जोड दिने, आधुनिक भुक्तानी प्रणालीको विकास र त्यसलाई विश्व बजारमा एकीकरण गर्ने र वित्तीय सुदृढीकरणका उपायलाई निरन्तरता दिनेमा हाम्रा प्रयासहरु केन्द्रित रहेका छन् ।”
देशको दिगो आर्थिक वृद्धिलाई परलक्षित गर्दे राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गरेको र यस सम्मेलनले नेपालको आर्थिक तथा मौद्रिक क्षेत्रको विश्लेषणात्मक अध्ययन मा टेवा दिँदै नीति निर्माणमा पनि सधाउने उनले बताए । उनले विकसित विश्वव्यापी परिदृश्यमा नेपालको समष्टि आर्थिक अवस्था र दिगो र समावेशी वृद्धि सुनिश्चित गर्न सुधार गर्दै लचिलो वित्तीय क्षेत्र निर्माण गर्न आवश्यक छ भने । उनले विश्व बजारको अन्तरसम्बन्धलाई आर्थिक गतिविधिमा विश्वव्यापी झट्काको प्रभावलाई कम गर्न नीतिगत मेलमिलाप आवश्यक छ भने ।

गभर्नर अधिकारीले यस सम्मेलनले वित्तीय स्थिरता, मौद्रिक नीति र समग्र वित्तीय विकासमा प्रमाणमा आधारित नीतिगत अन्तरदृष्टि प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरे । उनले यस सम्मेलनले शैक्षिक समुदाय र केन्द्रीय बैंकिङ संस्था बीचको गतिशील संवादलाई प्रोत्साहन गर्छ, प्रमाणमा आधारित नीति निर्माणलाई बढावा दिन्छ र आर्थिक विज्ञानको विकासमा योगदान पुर्याउँछ भने ।
“हाम्रो फोकस मौद्रिक र म्याक्रोप्रुडेन्सियल नीतिहरू बीचको राम्रो समन्वयमा छ । बैंकिङ क्षेत्रले दिगो आर्थिक विकासमा टेवा पु¥याउने र सम्पत्तिको बुलबुलेको जोखिमलाई कम गर्न सक्ने सुनिश्चित गर्न उत्पादनशील क्षेत्रतर्फ ऋण प्रवाह गर्ने प्रयास गरिरहेका छौँ । हामीले वित्तीय समावेशीकरणलाई पनि प्रवद्र्धन गर्दै आएका छौँ”, उनले भने।
खुला विश्वविद्यालयका उपकुलपति शिलु मानन्धर बज्राचार्यले अर्थशास्त्र, वित्त र सम्बन्धित विषयमा आधारित रहेर गुणस्तरीय अनुसन्धानका लागि यस सम्मेलनले महत्त्वपूर्ण सन्दर्भहरुको उजागर गर्ने बताए । उनले यस सम्मेलनबाट हासिल हुने उपलब्धिले विश्वविद्यालय तथा शिक्षण संस्थाका लागिसमेत गुणस्तरीय अनुसन्धान र शिक्षण सिकाइका लागि अत्यन्तै प्रभावकारी तथा महत्त्वपूर्ण उपलब्धि हासिल हुने धारणा राखे । यस कार्यले नेपालका विश्वविद्यालयले प्रदान गर्दै आएको उच्च शिक्षालाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।






















