बुटवलमा खुल्यो “अर्गानिक हरितक्रान्ति” कृषि फर्म


बुटवल । बढ्दो शहरीकरण र व्यावसायिक प्लटिङका कारण खेतियोग्य जमिन मासिदै गएसंगै कृषिप्रधान देश नेपालले बर्सेनी करोडौंको खाद्य वस्तु आयात गर्नुपर्ने बाध्यता बढ्दै गएको छ । जसले गर्दा आयातित कृषिजन्य पदार्थमा अत्यधिक हानिकारक विषादीको उच्च प्रयोगले मानव स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असरहरु पर्दै आएको पाइन्छ । यस्तो बिषम परिस्थितीमा पनि नागरिकको स्वास्थ्यलाई सन्तुुलन राख्न स्वदेशी अर्गानिक हरितक्रान्तिको लक्ष्य लिएर बुटवलका भुवनेश्वर न्यौपानेले बुटवल ११ देबशिद्ध चोक नजिक ग्रेट भिजन एग्रीकल्चर प्राली सञ्चालनमा ल्याएका छन् ।

विषादिरहित तरकारीेदेखि विभिन्न रोगहरुमा लाभदायिक हुने मोरिंगासम्म उत्पादन गर्ने उद्देश्यसहित करिव पचास लाख लागतमा डेढ बिगाहा क्षेत्रफलमा कृषि फर्म खोेलेको फर्म सञ्चालक कृषक न्यौपाने बताउँछन् । सञ्चालक न्यौपानेले भने, तरकारी र फलफुलका बिरुवा उत्पादनलाई विशेष जोड दिदै हिजोका दिनमा चलेको खेतखलियानलाई पनि समेट्दै अब कौसी करेसाखेतिलाई प्राथमिकता दिने बताए । कौसी करेसाखेतिबाट हामीहरुले ९० प्रतिशत उत्पादन गरेर आयातित विषादियुक्त तरकारीको आवश्यक्तालाई कम गर्न सकिने दाबी गर्दै यसमा सबैको साथ सहयोगको अपेक्षा रहनुपर्ने उनको भनाई छ ।
शनिवार एक कार्यक्रमका बिच फर्मको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेवी अर्यालले आफु र आफ्नो परिवारहरुको स्वास्थ्यलाई विषादीयुक्त खानपानलाई न्यूनीकरण गर्न आफुले करेसा, कौसी र थोरै जग्गालाई उपयोग गरी तरकारी खेति गर्नुपर्ने बताइन् । म पनि घरमा करेसाबारीमा फलफुल र तरकारी गोडमेल गरेर अहिले आएकी हुँ । हामीहरुले उत्पादन गर्नै कुरामा गम्भीर बनौं ।

कृषिलाई उत्थान गर्न उपमहानगरपालिकाले कृषि शाखा मार्फत् गत बर्ष मकै जोनको लागि केही किसानहरुलाई बजेट विनियोजन गर्न उत्प्रेरित गर्दै बजेट लगेर काम गर्न सुझाएयौं तर उहाँहरुले लैजानु भएन । बुटवल उपमहानगर कृषिमैंत्री छ । यसमा कुनै शंका छैन् ।
उनले थपिन्, अब बुटवलका होटल रेष्टुरेन्टहरुको किचनलाई खुल्ला गर्नुपर्ने कुरालाई प्रावधान र नियम बनाएर अगाडि बढ्दै छौं । यसमा तपाईहरुले त्यो र यो मेरो मान्छे हो भनेर नआउनु होला । हामी नागरिकहरुको स्वास्थ्यलाई स्वस्थ वनाउन निर्मम तरिकाले लाग्ने र कुनै सम्झौता नगर्ने दृढता लिएका छौं । बुटवललाई हरियाली र हरितगृह बनाउन हामीहरु लागेका छौं । ग्रेट भिजन एग्रीकल्चर प्रालीले विषादीरहित कृषि जन्य वस्तुहरुको उत्पादन गरोस् हामी अनुगमनमा आउँछौं भन्दै फर्मलाई शुभकामना दिइन् ।
उपभोक्त हित संरक्षण बुटवलका अध्यक्ष समुन्द्र जिसी युवा जनशक्तिहरु दैनिकजसो पलायन भइरहेका बेला कृषिलाई आधुनिकीकरण गर्दै कृषि फर्म खोलेर उत्पादनलाई जोड दिनु सरानिय कार्य भएको बताउँदै विषादिको प्रयोग नगर्न उक्त कृषि फर्मका सञ्चालकलाई सुझाए । जिसीले खानेपानी संस्थाहरुले पनि शुद्ध खानेपानी वितरण नगरेको, विभिन्न व्यवसायीहरुले उपभोक्ताहरुलाई मूल्य लगायतमा ठगी गर्ने गरेको, प्रविधिका क्षेत्र इन्टरनेट सेवाहरुले पनि उपभोक्ताहरुलाई चर्को शुल्क लिइरहेकाले त्यसतर्फ मञ्चको गम्भीर ध्यानाकर्षण भएको जनाए ।
कृषिज्ञान केन्द्र भैरहवाका प्रमुख शिवप्रसाद अर्यालले अबको विकल्प कृषिभन्दा अरु नभएको भन्दै विषादीयुक्त तरकारी जन्य पदार्थ अन्त्यका लागि पालिकाले विशेष ख्याल गर्नुपर्नेमा जोड दिए । देवशिद्ध खानेपानी संस्थाका अध्यक्ष भरत पाठकले नेपाल कृषिप्रधान देश भएपनि खेतियोग्य जमिन पछिल्लो समय प्लटिङ र अव्यवस्थापन भएकाले आज तेस्रो मुलुकहरुबाट समेत आयात गरेर खानुपर्ने गर्नुपर्ने बाध्यता छ । देशमा कृषि उत्पादन क्षेत्रमा निराशता आउनु र उत्पादनमा घट्नुमा राज्यको कृषि नीति पनि कृषिमैंत्री नभएकाले दयनीय बन्दै गएको जिकिर गरे ।
कंक्रिटका संरचना बढ्दै गएकाले पानीको रिचार्ज हुन नसकेकाले पानीको मुहानमा कमि हुँदै गएको उल्लेख गरे । उनले थपे, हामीसंग जमिन छ, तर त्यो प्रयोगबिहिन बन्यो । नागरिकहरुमा पनि नैराश्यता छाएको छ । किनभने समयमा रासायनिक मल, बिउको सहज र सुलभ मुल्यमा नपाइने र किसानहरुले उत्पादन गरेको उत्पादनले बजारभाउ नपाउने हुनाले पनि कृषि कर्म गर्नेहरुको संख्या घट्दै गएकाले पालिकाहरुले कृषि प्रवर्द्धन एवं उत्थान जस्ता कार्यक्रम ल्याउन आग्रह गरे ।























