मनाईयो विश्वकर्मा पूजा


बुटवल, असोज १ गते । आज असोज १ गते विश्वकर्मा पूजा । प्रविधि तथा फामलगायतका औजारको पूजा गरी विश्वकर्मा पूजा गरिएको छ । धार्मिक विधिपूर्वक कलकारखानाका सञ्चालक र मजदुरहरुले फलामजन्य सामानहरुलाई विश्वकर्माको प्रतिक मानि पुजा गर्ने प्रचलन छ ।

कलकारखाना सञ्चालक र मजदुरहरुले आफ्ना औजार तथा अन्य मेशिनरी सामानहरुको पुजा गरेर आजको दिनलाई खुशीयाली साथ मनाएका छन् । आफुले कामगर्ने औजार तथा उपकरणलाई सफा गरी पुजा गरेमा उपकरण र औजारबाट हुने कामहरुमा फाईदा हुने तथा लामो समय टिक्ने बिश्वास छ । विश्वकर्मा पूजाको दिनमा सवारी साधनका संचालक तथा मजदुरहरुले आफ्नो सवारी साधन ध्वजापतकाले सजाई बिश्वकर्मा बावालाई सम्झदै पुजा गरी मनाउने चलन पुरानै हो ।
आजको दिन कलकारखाना तथा उद्योगहरुमा काम गर्ने मजदुरहरुलाई बिदा दिने गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मान्ने गरिन्छ । यसैको सम्झनामा नेपालका कालीगढहरुले आज भव्य रुपमा विश्वकर्मा बाबाको पूजाआजा गरी विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण विकास हुने विश्वासका साथ विश्वकर्माको पूजाआजा गर्ने गर्दछन् । आजको दिनलाई वास्तु दिवसका रुपमा समेत मनाउने गरिन्छ ।

बुटवल अटो 
बुटवलका अटो व्यवसायीले विशेष महत्वका साथ विश्वकर्माको पूजा गरेका छन् । बुटवल अटो इन्जिनियरिङ एशोसिएशनको आयोजनामा व्यवसायीले धुमधामका साथ विश्वकर्मा बाबाको पुजा गरेका हुन् । बुटवल मैनाबगरमा रहेको विश्वकर्मा बाबाको मन्दिरमा धार्मिक परम्परा अनुसार व्यवसायीले पूजा गरेका छन् ।
फलामजन्य सामान तथा सवारी साधन ध्वजापतकाले सजाई विश्वकर्मा बाबाको पुजा गरी मनाउने प्रचलन अनुसार अटो व्यवसायीले धुमधामका साथ मंगलबार विश्वकर्माको पूजा गरी पर्वको रुपमा मनाएका छन् ।
बुटवल औद्योगिक क्षेत्रमा रहेका उद्योग तथा बाहिरका अन्य उद्योगहरुमा पनि उद्योगी व्यवसायीले विश्वकर्मा पूजा गरेका छन् ।
मंगलबार बिहानैदेखि देशभर नै धुमधामका साथ विश्वकर्मा पूजा गरिएको छ ।























