मेटमणिलाई पार्टीबाट निष्कासन गर्न झलनाथको माग


बुटवल, असोज १ गते । नेकपा एकीकृत समाजवादीका बरिष्ठ तथा ‘सम्मानित नेता’ झलनाथ खनालले पार्टीका उपमहासचिव मेटमणि चौधरीलाई पार्टीबाट निष्कासन गर्न माग गरेका छन् । नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको हो भन्ने अभिव्यक्ति कुनै हालतमा क्षम्य नहुने बताउँदै खनालले मेटमणिलाई ‘दुषित तत्व’ को संज्ञा दिएका छन् ।

मेटमणि चौधरीले गत भदौ २५ गते प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन’ भन्ने कार्यक्रममा ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी’मा भारतले गरेको दाबी पुग्ने र यी भूमि उसैको भएको आशयको अभिव्यक्ति दिएका थिए।
यस विषयमा उनीसँग पार्टीले स्पष्टीकरण पनि लिइसकेको छ। तर पार्टीलाई बुझाएको लिखित स्पष्टीकरणमा उपमहासचिव चौधरीले आफूले त्यस्तो नबोलेको जिकिर गरेका छन् भने एकीकृत समाजवादीले ‘जिब्रो चिप्लिएको’ भनी उनलाई थप कारबाही नगर्ने तयारी गरिरहेको समाचार सार्वजनिक भएको छ। सोही विषयमा वक्तव्य जारी गर्दै नेता खनालले मेटमणिलाई पार्टीबाटै निकाल्नुपर्ने माग नेतृत्वसँग गरेका हुन्।

झलनाथ खनालको विज्ञप्ती
गलत तत्वका विरुद्ध अविलम्ब कारबाही गरियोस्
मैले गत भदौको २८ गते प्राइम टाइम टेलिभिजनमा हाम्रो पार्टीका एकजना उपमहासचिवको ऋषि धमलासँगको अन्तर्वार्ता हेर्ने अवसर पाएँ। त्यस अन्तर्वार्तामा ती “उपमहासचिव” भन्छन् “कालापानी, लिम्पियाधुरा र लिपुलेक”जस्ता भूभागहरू “भारतकै हुन्”। सरकारले “चुच्चे नक्सा निकालेर भ्रम छर्ने” काम गरेको छ। उनी अगाडि भन्छन्, “ऐतिहासिक प्रमाणका आधारमा सरासर भारतको प्रमाण पुग्ने भूभागलाई नेपालले दाबी गर्नु मूर्खता मात्र भएको छ”। त्यति मात्र होइन, उनी अझै जोड दिएर भन्छन्, यो “नेपालले हावाका भरमा दाबी गरेको” मात्र हो। अझ उनी प्रश्न गर्छन्, “बिनाकारण नक्सा निकालेर आफ्नो भूभाग हुन्छ भने विश्वका १९३ देशका भूभागहरू आफ्ना नक्सामा राखेर हुन्छ भन्दै सबैलाई चुनौती दिन्छन्।
यो कस्तो विचित्रको अभिव्यक्ति हो? यो भारतीय नागरिक बोल्दै छ कि नेपाली नागरिक? यो त सोह्रैआना राष्ट्रियताविरोधी अभिव्यक्ति हो। यो देशद्रोही अभिव्यक्ति पनि हो। यो हाम्रो एकीकृत मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज पनि हो। हाम्रो पार्टी जस्तो एउटा देशभक्त, समाजवादी र क्रान्तिकारी पार्टीका निम्ति यो त लज्जा र घृणाको विषय पनि हो। यस्तो पार्टीको कुनै नेताबाट मात्र होइन, सामान्य कार्यकर्ता साधारण सदस्य तथा समर्थक र सुभेच्छुकहरूबाट पनि त्यस्ता अभिव्यक्ति आउनु असम्भव हुन्छ। आफ्नो मातृभूमिप्रति अलिकति पनि माया र सहानुभूति भएको कुनै सामान्य नागरिकबाट पनि यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना पनि गर्न सकिन्न। अझ हामै पार्टीको “उपमहासचिव” र वहालवाला “सांसद”बाट यस्ता अभिव्यक्ति आउनु गम्भीरभन्दा गम्भीर अक्षम्य आपत्तिको विषय बनेको छ।
उक्त “उपमहासचिव”को उपरोक्त अभिव्यक्तिबाट हाम्रो गौरवमय पार्टी पंक्ति र आम देशभक्त नेपाली जनतामा हाम्रो पार्टीको गरिमाप्रति गम्भीर प्रश्न उठेको छ। आम कार्यकर्ता, समर्थक र शुभेच्छकहरूमा समेत तीखो आक्रोश र विरोधको भावना उत्पन्न भएको छ। यस्तो अवस्थामा अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्त्वहरूबाट हाम्रोजस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रूपमा स्थापित गर्न म पार्टी नेतृत्वपंक्तिसमक्ष जोडदार माग गर्दछु।
मितिः ३१ भदौ, २०८१
झलनाथ खनाल
पूर्वप्रधानमन्त्री
तथा
सम्मानित नेता, नेकपा (एकीकृत समाजवादी)























