रास्वपाले आकस्मिक भेला बोलायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ । रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन् ।

केन्द्रीय कार्यालय पुगिसकेका रास्वपाका एक कार्यकर्ताले भने, प्रदेश सभापतिले मेसेज गरेपछि हामीहरु भेला हुँदैछौं । रास्वपाका एक नेताका अनुसार सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा छन् ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला डाकेको हो । गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई प्रहरीले आइतबार प्रक्राउ गरेको छ ।