रास्वपा कार्यालयमा कार्यकर्तादेखि प्रहरीसम्मको भिड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना पुगेपछि रास्वपाका कार्यकर्ताको भिड केन्द्रीय कार्यालयमा लाग्न थालेको छ ।रविविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरी खटाइएको सूचना सुनेपछि पार्टी कार्यालयमा कार्यकर्ता भेला हुन थालेका हुन् । अहिले रास्वपा कार्यालयमा चस्मतीमा कार्यकर्ता जम्मा भइरहेका छन् ।

अहिले त्यहाँ भिड बढेसँगै सुरक्षाका लागि प्रहरी टोली पनि पुगेको छ । बर्दीमा आवश्यक तयारीसहित प्रहरीको टोली तैनाथ छ । त्यस्तै सादा पोशाकका प्रहरी पनि त्यहाँ पुगेका छन् । प्रहरीको टोली कार्यालय परिसरभित्र छिरेर पनि बाहिर निस्किएको छ । अहिले प्रहरी टोली भ्यानसहित रास्वपा कार्यालयबाट केही बाहिर बसेको छ ।

रास्वपाले कार्यकर्ता उपस्थित हुन आग्रह गरेपछि उनीहरु पुगेका हुन् । हाल पार्टी कार्यालयमा पार्टीका केन्द्रीय सदस्य, सचिवालयका सदस्य र रविका निजी वकिल पनि पुगिसकेका छन्’, एक कार्यकर्ताले भने । जरुरी पक्राउ पुर्जी जारी भइसकेपछि नेपाल प्रहरीले एउटा उच्चस्तरीय टोली लामिछानेलाई पक्रन परिचालन गरिसकेको स्रोतले जनाएको छ ।