लुम्बिनीले पचास करोड नदिएपछि निर्माण व्यवसायीहरुले थाले धर्ना

बुटवल । काम गरेको झण्डै १० महिना बितिसक्दा समेत रनिङ बिलबापत पाउनुपर्ने ५० करोड भुक्तानी रोकिएपछि निर्माण व्यवसायीहरुले लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिएका छन् ।​ कोषअन्तर्गतका विभिन्न परियोजनाका ठेकेदारहरुले भुक्तानी माग्दै कोषको कार्यालयमा आइतबार धर्ना दिएका हुन् ।

‘लुम्बिनी विकास कोषअन्तर्गतका परियोजनामा निर्माण कार्य गरिरहेका निर्माण व्यवसायीहरुले विगत १० महिनादेखि पेश भएको रनिङ बिलको भुक्तानी नपाएको हुँदा यो धर्ना कार्यक्रम गरिरहेका छौं,’ धर्नास्थलमा टाँगिएको ब्यानरमा भनिएको छ । यसअघि शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायीहरुलाई अविलम्ब भुक्तानी प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए ।

‘भुक्तानीमा भइरहेको ढिलाइले परियोजनाहरुको प्रगतिमा गम्भीर असर पुर्‍याइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, यदि भुक्तानी प्रक्रिया छिटो अगाडि नबढाइएमा निर्माण व्यवसायीहरुले अझ कडा कदम चाल्न बाध्य हुनेछन् । यसबाट सिर्जना हुने सम्पूर्ण जिम्मेवारी लुम्बिनी विकास कोषले लिनुपर्नेछ ।

यथाशीघ्र भुक्तानीको माग गर्दै निर्माण व्यवसायीहरूले शुक्रबारदेखि सम्पूर्ण निर्माण कार्य रोकिसकेका छन् । अझै २ दिनसम्म भुक्तानी नभएमा कोषको कार्यालयमै तालाबन्दी गर्ने निर्माण व्यवसायीहरूको चेतावनी छ । यस राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतका विभिन्न परियोजनामा लुम्बिनी-एनके-खड्का-कृष्ण-जेभी, लामा-एपेक्स-कमलजित जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बबुल जेभी कार्यरत रहेका छन् ।