कसैको राजनीति बचाउनका लागि पक्राउ गर्न खोजिएको होः लामिछाने

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पञ्चायत शैलीमा आफूमाथि धरपकड गर्ने प्रयास भएको बताएका छन् । उनले आफू कसैको राजनीति बचाउनका लागि पक्राउ हुनु पर्ने अबस्था आएको भन्दै यो धरपकड सह्य नहुने जिकिर गर्दै आफूले केही नबिगारेको भन्दै नडराएको दावी गरे ।

साथै उनले प्रहरीको अनुसन्धानले दोषी नदेखिएको तथा सरकारले बनाएको छानबिन समितिको प्रतिवेदनले पनि दोषाी नदेखिएको अवस्थामा जबर्जस्ती रुपमा आफू विरुद्ध कसैले आफ्नो राजनीति जोगाउन धरपकड गर्न खाजेको बताए । उनले आफ्ना समर्थकलाई सम्बोधन गर्दै सरकारले सर्वाधिक मत ल्याएर संसदमा रहेको एक जनप्रतिनिधि विरुद्धको यो प्रकारको ट्रायल सह्य नहुने बताए ।

उनले आफ्ना समर्थकलाई सरकारको भरोसा नभएको भन्दै आवश्यक पर्दा यसको विरुद्ध सडकमा निस्कन आग्रह गरे । सरकार सहकारीपीडितको बचत फिर्ताका लागि कुनै कार्य नगरेको तर रवि लामिछानेलाई जसरी पनि पक्राउ गरर्नुपर्छ भन्ने एकोहोर नजिर बनाएर रास्वपालाई सिद्याउने षड्यन्त्रमा लागेको भन्दै उनले कुनै पनि हालतमा रास्वपा नसिद्धिने, झनै बलियो भएर उठ्ने बताए ।

उनले न्युजरुमबाट बुट बजारेर मध्यराति लगेर गएको याद भएको पनि बताए। ‘त्यति खेर देखि म अन्यायमा परेको छु, मलाई निरन्तर रूपमा खेदिएको छ। एउटा मान्छेलाई खेद्ने, लगातार खेद्ने, राज्यको सम्पूर्ण शक्ति दुरुपयोग गरेर एउटा मान्छेलाई जसरी घेराबन्दीमा पार्ने प्रयास भएको छ, मैले पहिला पनि भनेको थिएँ। म अभिमन्यु होइन, मलाई यो चक्रव्यूहबाट निस्किन आउँछ,’ उनले भने । उनले अहिलेको सरकार षड्यन्त्र गर्ने , विरोधीहरुलाई धरपकड गर्ने कोशिश गर्ने, नयाँ आएकाहरुलाई भाग खान आएका भनेर कटाक्ष गर्ने, नयाँको विरोध गरेर बस्ने भन्दै कटाक्ष गरे ।