रविलाई पक्राउ गर्न माग गर्दै पोखरामा सहकारी पीडितको प्रदर्शन


पोखरा, असोज ७ गते । सूर्यदर्शन सहकारीका पीडित बचतकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गरेका छन् । सहकारी पीडितहरुले पक्राउ गर्न सरकारसंग माग गर्दै नारा जुलुसमा साथ प्रदर्शनमा उत्रेका छन् ।सहकारीको पैसा गोर्खा मिडिया मार्फत लामिछानेले दुरुपयोग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयको गेटनेर सहकारी पीडित र त्यसकै ठिकअगाडि शहीद चोकको चौतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता–कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् । सूर्यदर्शन सहकारी पीडित र रविसमर्थक नेता–कार्यकर्ता आमने–सामने हुँदा सुरक्षा व्यवस्था कडा पारिएको पोखरा प्रहरीले बताएको छ ।
सहकारी पीडितले बचतकर्तालाई मारेर सहकारीको पैसा गोर्खा मिडियामा गएको र त्यसलाई अपचलन गर्ने काम रविले गरेको बताएका छन् । रविकै संलग्नतामा रकम अपचलन भएको भन्दै सूर्यदर्शनका सहकारी पीडितले २२ माघ २०८० मा रवि, गोर्खा मिडिया सहित विभिन्न १८ व्यक्ति र संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए ।

गोर्खा मिडिया प्रालिका सेयर सदस्य तथा सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेर पोखरा ल्याइएको छ । जोशीलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइने बताईएको छ ।























