अनाथका लागि सिमली मन्टेश्वरी स्कुल सञ्चालन गर्न सांस्कृतिक कार्यक्रम


बुटवल, कार्तिक २५ गते । मितेरी इन्टरनेशनल सिमली मन्टेश्वरी स्कुल बुटवल उपमहानगरपालिका वडा न–११ दुर्गानगरमा सञ्चालन गरिएको छ । अनाथ तथा गरिब परिवारका बालवालिकालाई निःशुल्क पढाउने उद्वेश्यले उक्त स्कुल सञ्चालन गरिएको हो ।

सोही स्कुल सञ्चालनका लागि आर्थिक संकलन गर्नका लागि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आइतबार पत्रकार सम्मेलन गरी मितेरी इन्टरनेशनल सिमली मन्टेश्वरी स्कुलका अध्यक्ष महेन्द्रराज शर्मा अर्यालले जानकारी गराए । मन्टेश्वरी स्कुल सञ्चालनका लागि यही कार्तिक २८ गते सोही स्कुलको प्राङणमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । अध्यक्ष अर्यालका अनुसार मितेरी इन्टरनेशनल सिमली गैरनाफामुखी संस्था हो ।
सामाजिक कल्याण परिषद्मा आवद्ध भएको संस्थाले विगतदेखि सामाजिक र समसामयिक बिषयमा कार्यक्रम गर्दै आएको छ ।
शिक्षा क्षेत्रमा लगानी गरेर अनाथ तथा विपन्न परिवारका बालबालिकालाई निःशुल्क शिक्षा दिने उद्देश्यले स्कुल खोलिएको र स्कुललाई स्तरउन्नती गर्दै कक्षा १२ सम्म सञ्चालन गर्ने योजना रहेको अध्यक्ष अर्यालले बताए । स्व. लिला अर्यालको नाममा स्कुल स्थापना गरिएको र अहिले पढ्दै गरेका २५ जना विद्यार्थी शिक्षासहित पोशाकसमेत निःशुल्क उपलब्ध गराईएको छ । 

विशुद्ध गेैरनाफामुखी संस्था खोलेर अनाथ सँगेै अन्य आर्थिक स्थिति राम्रो भएका परिवारका बालबालिकालाई न्यून शुल्कमा अध्ययन गराइने अध्यक्ष अर्यालले बताए । शिक्षालाई व्यापार बनाइएकाले विपन्न परिवार र अनाथ बालबालिकाहरु शिक्षाबाट बञ्चित भएकाले संविधानले दिएको अधिकारलाई उपयोग गरेर मण्टेश्वरी स्कुल सञ्चालन गरिएको मितेरी इन्टरनेशनल सिमली मन्टेश्वरी स्कुलकी प्रिन्सिपल मधु महतराले बताइन।
यही कार्तिक २८ गते दिउँसो २ बजेदेखि शुरु हुने सांस्कृतिक कार्यक्रम खुल्ला हुने र टिकट नलाग्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
सांस्कृतिक कार्यक्रमबाट १० लाख आर्थिक संकलन गर्ने आयोजकहरुको अपेक्षा गरेका छन् ।
उक्त सांस्कृतिक कार्यक्रममा लोकदोहोरी कलाकार पशुपति शर्मा, श्याम राना, निर्जला गुरुङ, हास्यव्यङे कलाका विष्णु जी पाण्डेय माइला बा लागायतका अन्य केही कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गर्ने कार्यक्रम तय भएको स्कुलका कार्यकारी निर्देशक सिजन अर्यालले जानकारी गराएका छन् ।






















