एमालेद्वारा बुटवलमा आमसभा

बुटवल, चैत २८ गते । नेकपा एमालेले भोली २९ गते बुटवलमा आमसभा आयोजना गरेको छ । एमालेले आयोजना गरेको उक्त आमसभामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

एमाले प्रचार विभाग रुपन्देहीले बिहीबार पार्टी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी आमसभाबारे जानकारी गराएको छ । बुटवल मण्डपमा आयोजना गरिने उक्त आसभामा ५० हजार जनाको सहभागिता गराउने गरी तयारी भएको एमाले लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले जानकारी गराइन ।

एमाले रुपन्देहीको आयोजनामा हुने उक्त आमसभाका लागि रुपन्देहीका १६ वटै पालिकाका गाउं कमिटी, वडा कमिटी, जनसंगठनको बैठक गरी ५० हजार मानिसलाई सडकमा उतार्ने निर्णय भएको पत्रकार सम्मेलनमा इन्चार्ज अर्यालले बताइन ।
आमसभा हुनु अघि बुटवलबाट भैरहवासम्म मोटरसाईकल र्याली निकाल्ने र उक्त मोटरसाईकल र्यालीमा ५ हजार मोटरसाईकल र साना ५ सय गाडी प्रयोग गरिने बताईएको छ ।

लोकतन्त्र, गणतन्त्र बिरुद्ध भैरहेका गतिविधीलाई रोक्न र एमाले समर्थकलाई सचेत बनाउने गरी आमसभाको आयोजना गरिएको एमाले लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले बताइन । लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउनका लागि देशभर आमसभाहरु आयोजना गरिएको बताउंदै इन्चार्ज अर्यालले भनिन्– कानुन पालन नगर्ने र व्यवस्थाविरुद्व गतिविधिमा लागेर गल्ती गरेकालाई कारवाही गरिन्छ भनिन् ।

नेकपा एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले सामाजिक सञ्जालबाट नागरिकमा नकारात्मक भ्रम फैलाउने र लोकतन्त्र, गाणतन्त्रविरुद्व भ्रम सिर्जना गर्नेबिरुद्व आमसभाले खबरदारी गर्ने बताए ।

एमाले रुपन्देही प्रचार विभाग प्रमुख मिनप्रसाद पौडेलको अध्यक्षता र पत्रकार विभाग सचिव पत्रकार प्रदीप आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

आमसभामा पार्टी अध्यक्ष केप ओलीसहित अर्थमन्त्री विष्णुप्रसाद पौडेल, लुमिबनी प्रदेशका मुख्यमनत्री चेतनारायाण आचार्य, लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याललगायतका नेताहरु बोल्ने कार्यक्रम रहेको एमाले रुपन्देहीले बताएको छ ।