रास्वपाले पत्रकारमाथि झुटो आरोप लगाएकोप्रति प्रेस चौतारीको ध्यानाकर्षण

बुटवल, फागुन ७ गते । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुटवल–११ का सभापति सुनिल शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई लक्षित गर्दै लगाएको आपत्तिजनक, निराधार र झुटा आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासचिव हरि अधिकारीद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा पत्रकार तथा सञ्चारमाध्यमलाई समाचार लेख्न र विचार अभिव्यक्त गर्न संविधानले सुनिश्चित गरेको स्वतन्त्रता रहेको उल्लेख गर्दै कुनै समाचारप्रति असहमति भए कानुनी प्रक्रियाअनुसार प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने व्यवस्था स्पष्ट रहेको बताइएको छ ।

विज्ञप्तिमा पूर्वाग्रह र प्रतिशोधपूर्ण मनसाय राखी प्रमाणविना पत्रकारमाथि लाञ्छना लगाउनु पत्रकारिता पेशाको अवमूल्यन र बदनाम गर्ने कार्य भएको ठहर गरिएको छ । शाहीले इंगित गरेको विषयमा केही पत्रकारले प्रत्यक्ष स्थलगत अवलोकन, टोल विकास संस्था तथा सम्बन्धित वडाका जनप्रतिनिधिसँग बुझ्दा आरोपहरू शतप्रतिशत झुट र भ्रामक रहेको दाबी गरिएको छ ।