बुटवलमा घर नक्सा पासका लागि अनलाइन प्रणाली सुरु


बुटवल, जेठ ८ गते । बुटवल उपमहानगरपालिकाले घरनक्सा पासका लागि अनलाइन प्रणाली शुभारम्भ गरेको छ । काठमाण्डौ बाहिर अनलाइन प्रणालीबाट घरनक्सा पास गर्ने पहिलो स्थानीय तह हो बुटवल उपमहानागरपालिका ।

हस्ताक्षरसमेत अनलाइनबाट हुने भएपछि अब बुटवलवासीले सेवा लिदा पाउने झन्झटबाट मुक्त हुने भएका छन् । शुक्रबार नगरप्रमुख खेलराज पाण्डेय र नगरप्रमुख सावित्रादेवि अर्यालले बुटवल–१२ तामनगरका ऋषिबहादुर लामिछानेलाई अनलाइन प्रणालीबाट तयार पारीएको नक्सा हस्तान्तरण गरी सेवा शुभारम्भ गरेका हुन् ।
नगरप्रमुख खेलराज पाण्डले नगरबासीलाई छिटो, छरितो, सहज र पारदर्शी सेवा दिने गरी अनलाइन नक्सापास प्रणाली ल्याइएको बताए ।
नक्सापास सम्बन्धी ८० प्रतिशत काम वडा कार्यालयबाटै सम्पन्न हुनेगरी सातौ तहको प्राविधिक वडामा खटाएर अन्य आवश्यक जनशक्ति व्यवस्थापन गरी सेवा प्रदान गरिने बताए ।

आगमी असारमा हुने नगर सभाबाट घरनक्सा पास सम्बन्धी ऐन बनाएर यो सेवालाई थप प्रभापकारी बनाउने बताउंदै नगर प्रमुख पाण्डेले भने – आर्थीक वर्षदेखि उपमहानगरमा दर्ता भएका निर्माण व्यवसायीले मात्र घर तथा अन्य भवन निर्माण गर्न पाउने र गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउने छौ ।
अब नगरपालिकाको कार्यालय दिनभर लाइनमा उभिन नपर्ने गरी कामलाई अगाडि बढाएर जस्ता झन्झटीलो अवस्थाको अन्त्य गर्ने बताए ।
नगर उपप्रमुख अर्यालले डिजिटल प्रणाली सञ्चालनमा आएसँगै विचौलिया प्रवृत्ति, आर्थिक अनियमितता र काममा ढिलाईको हुने बताइन ।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले नगरबासीको विवरण र डाटालाई सुरक्षित राख्न यो प्रणालीलाई थप व्यवस्थित बनाइने बताए । भवन निर्माण महाशाखा प्रमुख ई.सुमन श्रेष्ठले डिजिटल हस्ताक्षरको माध्यमबाट, सबै प्रमाणपत्रहरू र कागजातहरू कानूनी रूपमा मान्य र सुरक्षित ढंगले प्रमाणित गरिने हुँदा नक्सापास प्रक्रिया अझ द्रुत र सुरक्षित हुने बताए ।
ई.सुमन श्रेष्ठका अनुसार डिजिटल प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घर नक्सा दर्ता अनलाइनबाटै पेस गर्न सकिनेछ । घरधनिले इन्जिनियरलाई नक्सा बनाउन दिएमा डिजिटल फर्ममा नै बुटवल उपमहानगरपालिकाको सिस्टममा प्रवेश गर्छ । र त्यही सिस्टमबाट आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियरकहाँ गएर, कर तिरेर २० देखि २५ दिनभित्र डिजिटल रुपमा नक्सा तयार हुने ई. श्रेष्ठले बताए ।
उपमहानगरका नक्सा शाखा प्रमुख ई.युवराज भट्टराईले विगत ६–७ महिनादेखि ट्रायलका रुपमा प्रयोग गरी पूर्णरुपमा सफल भएपछि सञ्चालनमा ल्याइएको जानकारी गराएका छन् ।























