पर्यटन नीति परिवर्तन गर्न सरकारसंग माग

बुटवल, जेठ १८ गते । पर्यटन क्षेत्रको थप विकास र विस्तारका लागि पर्यटन नीतिमा आमुल परिवर्तन गर्न सरोकारवालाहरुले सरकारसंग माग गरेका छन् ।
पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरि पर्यटन क्षेत्रलाई आर्थिक विकाससंग जोड्नु पर्ने र त्यसका ालागि वर्तमान पर्यटन नीति बाधक रहेकाले परिवर्तन गर्नुपर्ने सरोकारवालाहरको भनाइ छ ।

सैद्धान्तिक प्रतिवेदनले मात्र पर्यटन क्षेत्रमा सुधार नआउने भएकाले समय सापेक्ष नीतिसंगै तीन तहका सरकारवीचको अधिकारको अस्पष्टता हटाउनु पर्ने उनीहरुले सरकारलाई सुझाव दिएका छन् ।

रुपन्देही उद्योग संघको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा सोमवार भएको रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती विषयक गोष्ठीमा राज्यकै कमजोरीले पर्यटन क्षेत्र फस्टाउन नसकेको बताए ।

पर्यटन नीतिमा आमुल परिर्वतन गर्दै नेपालमा घुम्ने पर्यटकको बसाई लम्ब्याउन सकेमात्र पर्यटनबाट राष्ट्रले लाभ लिन सक्ने उनीहरुको भनाइ छ ।

सोही कार्यक्रममा बोल्ने गोष्ठीमा बोल्ने बक्ताले रुपन्देहीमा पर्यटकलाई भुलाउने र देखाउने क्षेत्र तथा सम्पदाहरु प्रसस्त भएपनि हामीले त्यसलाई विकाउन नसकेको बताए । प्रचार प्रसारको कमी हुंदा पनि रुपनदेहीका पर्यटकीय सम्पदाहरुबाट सोचे जस्तो लाभ लिन नसकिएको उनीहरुले बताए ।

हाल नेपालमा विदेशबाट आउने पर्यटकको बसाई औषत १६ दिनभन्दा बढी रहेको बेला लुम्बिनीमा भने केवल डेढ दिनमात्र रहेने गरेकाले यसलाई लम्ब्याउने गरि योजना ल्याउन उनीहरुले सरोकारवाला निकायहरुलाई सुझाव दिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले रुपन्देहीको आर्थिक विकासमा पर्यटनको सम्भावना रहेको बताउंदै नीजि क्षेत्रलाई गम्भीर भएर लागि पर्न आग्रह गरे । स्थानीय सरकार तपाईहरुको साथमा छ, जसरी पनि पर्यटन क्षेत्रको विकास र विस्तारमा लाग्नुस भन्दै पर्यटन व्यवसायीलाई नगर प्रमुख पाण्डले आग्रह गरे ।

बुद्धजन्मस्थल लुम्बिनी, आदिमानव रामापिथेकस, सामरिक महत्वको जितगढी किल्लाजस्ता धेरै ऐतिहासिक, धार्मिक सास्कृतिक महत्वका स्थलहरुलाई प्रचारप्रसार गर्दै पर्यटक आर्कषण गर्ने काममा सरोकारवाला निकाय अग्रसर हुनुपर्ने बताए ।

उपप्रमुख सावित्रादेवि अर्याल, देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले बुद्ध परिपथलाई जोडेर पर्यटन योजना बनाउन सहकार्यको हात सधै अगाडी बढाउदै आएकाले अगाडि बढ्न आग्रह गरिन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुमन घिमिरे, अध्यता तथा प्राध्यापक युवराज कंडेल, लुम्बिनी विश्वविद्यालयका विभागिय प्रमुख डा.श्री प्रसाद भट्टराईले पर्यटन विकास सम्बन्धि छुट्टाछुटै अवधारणापत्र प्रस्तुत गरेका थिए । उनीहरुले लुम्बिनीलाई शान्ति, ध्यान र आरोग्यको पर्यटकिय क्षेत्रका रुपमा विश्वभर परिचित गराउदै रुपन्देहीलाई पर्यटनको गन्तब्य बनाउन सकिने बताए ।

रुपन्देहीको पर्यटन क्षेत्रको अवस्थाका बारेमा अवधारणा राख्दै लेखक युवराज कडेलले पर्यटनको विकास गर्न सेवा र कथा जरुरी रहने बताउंदै पर्यटन सुचना केन्द्रको आवश्यकता रहेको बताए ।

लुम्बिनी विश्वविद्यालयका विभागिय प्रमुख डा.श्री प्रसाद भट्टराईले पछिल्लो समयमा हाम्रा सांस्कृति धरोहरहरु मठमन्दीर लगायतका आस्थाका केन्द्रहरुको नक्कली बनाउने (डेष्टिनेशन डुब्लिकेशन) विषयले मौलिक पर्यटनको विकासमा दीर्घकालिन समस्या पार्ने दावी गरे ।

संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षता, संघका महासचिव सुमन वस्यालको सञ्चालन भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुमन घिमिरे, पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्र प्रसाद भुसाल, वरिष्ठ पर्यटन ब्यवसायी माधव नेपाल, नाटा लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष सागर अधिकारीसंग सामुहिक सम्बाद तथा अन्तरक्रिया गरिएको थियो । सो सम्बाद कार्यक्रम पत्रकार प्रदिप आचार्यले सञ्चालन गरेका थिए ।

नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुमन घिमिरेले पर्यटन विकासका लागि प्राथमिकतामा पूर्वाधार र यातायातमा जोड दिदै लुम्बिनी आउने पर्यटकलाई अन्य पर्यटकीय स्थलहरुमा घुमाउन सकेमात्र लाभ लिन सकिने बताए ।

नाटा लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष सागर अधिकारीले पर्यटन क्षेत्रमा नीजि क्षेत्रबाट धेरै आशमा लगानी गरेको भएपनि त्यो सफलता हासिल नभएको बताउदै सरकारी नीति र विधि पर्यटन विकासको बाधक भएको गुनासो गरे ।

पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद भुसालले आफुले नेतृत्व गरेको कार्यालय पर्यटकीय पूर्वाधार विकाससंग जोडिएको कार्यालय भएको हुदा उद्योग दर्ता, नबिकरण जस्ता कामहरु गर्ने र धार्मिक, सांस्कृतिक पुर्वाधारमा काम गर्दै आएको बताए ।

पर्यटन ब्यवसायी माधव नेपालले पर्यटन क्षेत्रको विकासका लागि सैद्धान्तिक कुराले नहुने भएकाले नीतिगत रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिए । नेपालले पर्यटन क्षेत्रमा नीजि व्यवसायीहरुलाई काम गर्न निकै गाह््रो अवस्था रहेको अनुभव सुनाए ।