कृष्णनगर उवासंघ अध्यक्षमाथिको सामुहिक आक्रमणः चार दिनपछि दर्ता भयो जाहेरी, अनुसन्धानको बाटो खुल्यो


बुटवल । कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा) माथि भएको सामुहिक आक्रमणको घटना अन्ततः चार दिनपछि कपिलवस्तु प्रहरीले दर्ता गरेको छ । घटना भएको चार दिन बितिसक्दा पनि प्रहरीले जाहेरी लिन आनाकानी गर्दै आएकोमा पीडित अध्यक्षले प्रधानमन्त्रीको कार्यालय र गृह मन्त्रालयमा हुलाक मार्फत जाहेरी पठाएपछि प्रहरीले जाहेरी दर्ता गरेको हो ।

असार २८ गते दिउँसो अध्यक्ष शर्मामाथि उनकै निवासमा प्रवेश गरी करिब १५–२० जनाको समूहले साङ्घातिक आक्रमण गरेको थियो । उक्त घटना लगत्तै असार २९ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय कृष्णनगरमा जाहेरी दिन पुग्दा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो । त्यसपछि असार ३० गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिन जाँदा पनि प्रहरीले आलटाल गर्दै आएको थियो ।
प्रहरीले जाहेरी लिन नमानेपछि पूर्व संविधान सभा सदस्य दीर्घनारायण पाण्डे, पूर्वराज्यमन्त्री ईश्वर दयाल मिश्र लगायतको टोलीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख (एसपी) लाई भेटी जाहेरी दर्ता गर्नुपर्ने भन्दै डेलिगेसन बुझाउँदै आपत्ति जनाएका थिए ।

स्थानीय प्रहरी प्रशासनबाट न्याय नपाउने निश्चित जस्तै भएपछि पीडित अध्यक्ष शर्माले अन्ततः प्रधानमन्त्रीको कार्यालय र गृह मन्त्रालयमा हुलाक मार्फत जाहेरी पठाएका थिए । केन्द्रबाट दबाब आउन सक्ने र कानुनी प्रक्रिया अगाडि बढाउन बाध्य हुने अवस्था देखेपछि कपिलवस्तु प्रहरीले बिहीवार (आज) जाहेरीकर्ता अध्यक्ष शर्मालाई जिल्ला प्रहरी कार्यालय बोलाई भरपाई गराएर दर्ता गरेको बताइएको छ ।
शर्मामाथि भएको आक्रमण घटनाको प्राप्त सीसीटीभी फुटेज अनुसार उक्त आक्रमणको नेतृत्व कपिलवस्तु–३ का संघीय सांसद अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका नगर प्रमुख (मेयर) रजतप्रताप शाहसहितको समूहले गरेको देखिन्छ । जाहेरी दर्ता भएसँगै प्रहरीले उक्त घटनाको अनुसन्धान प्रक्रियालाई अगाडि बढाउन प्रहरीलाई बाटो खुलेको छ ।























