कर चुहावटको आशंकामा बीवाईडी ब्रान्डका इभीको छानबिन


बुटवल, जेठ २२ गते । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका ७७४ वटा इभी गाडिको छानबिन हुने भएको छ । बजेटअघि नै करको दरसम्बन्धी सूचना चुहिएर विद्युतीय सवारीसाधन (इभी) आयात गरिएको आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका ७७४ वटा इभीबारे सत्यतथ्य छानबिन गर्न गठित सरकारी टोली फिल्डमा खटिएको छ ।

बुधबार राति कास्कीदेखि मुस्ताङसम्मका विभिन्न सडक खण्डमा जाँच अभियान सञ्चालन गरी सशस्त्र प्रहरीले ती सवारीसाधन नियन्त्रणमा लिएको थियो । अर्थ मन्त्रालयले उपसचिव भूपालराज शाक्यको नेतृत्वमा बिहीबार उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । सोही समिति छानबिनका लागि फिल्डमा खटिएको हो ।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार समितिका प्रतिनिधिहरू पोखरा र जोमसोम हुँदै सम्बन्धित ठाउंमा गएका छन् । सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्टले नियन्त्रणमा लिइएका ७७४ वटा सवारीसाधनमध्ये अधिकांश बीवाईडी ब्रान्डका रहेको जानकारी दिएका छन् ।

उनका अनुसार तीमध्ये धेरै सवारीसाधन नम्बर प्लेटविहीन अवस्थामा विभिन्न जिल्लातर्फ लैजाँदै गरिएको बेला फेला परेका थिए । प्रहरीले बजेटमार्फत करको दर परिवर्तन हुने सूचना पूर्वजानकारीका आधारमा आयात बढाइएको हुन सक्ने आशंकामा थप अनुसन्धानका लागि सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ ।
बीवाईडी ब्रान्डको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले भने नियन्त्रणमा लिइएका सबै सवारीसाधन बीवाईडीका नभएको दावी गरेको छ ।






















