जेसीज सप्ताह २०२६ः बुटवलमा ‘स्वच्छताका सारथी’ सरसफाइकर्मीलाई भव्य सम्मान


बुटवल । हाम्रो समाजलाई सुन्दर, स्वच्छ र सभ्य बनाउन अहोरात्र खटिने सरसफाइकर्मीहरु नै वास्तवमा समाजका स्वच्छताका सारथी हुन् । तिनै वास्तविक सारथीको अथक परिश्रम र योगदानको उच्च मूल्याङ्कन गर्दै बुटवल जेसीजले ‘जेसीज सप्ताह २०२६’ अन्तर्गत आइतवार (आज) एक विशेष सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।

बुटवल उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन शाखामा कार्यरत ४५ जना सरसफाइकर्मीहरुलाई उनीहरुको विशिष्ट योगदानको कदर गर्दै प्रशंसा पत्रसहित सम्मान गरिएको हो । बुटवल जेसीजका अध्यक्ष सिनेटर यदुमणि पोख्रेलको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर-४ का वडाध्यक्ष नरिश्वर पौडेलको प्रमुख अतिथ्यतामा भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नरिश्वर पौडेलले नगरलाई सफा र नागरिकलाई स्वस्थ राख्न सरसफाइकर्मीहरुले पुर्याएको योगदान अतुलनीय रहेको बताए । ‘हामी ओछ्यानमा हुँदा नै नगरलाई स्वच्छ बनाउन सडकमा निस्कने यी हातहरु नै हाम्रा असल सारथी हुन्,’ वडाध्यक्ष पौडेलले भने, उहाँहरुको श्रमको सम्मान गर्नु र उत्प्रेरित गर्नु सम्पूर्ण नगरवासीको कर्तव्य हो । जेसीजले यो अनुकरणीय कार्य गरेर समाजलाई सकारात्मक सन्देश दिएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सरसफाइकर्मीहरुको मनोबल उच्च राख्न यस्ता उत्प्रेरणात्मक कार्यक्रमहरु कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । बुटवल जेसीजका पूर्व अध्यक्ष सिनेटर मधुरा पिया, पूर्व अध्यक्ष सिनेटर मनोज भट्टराई र पूर्व अध्यक्ष सिनेटर गोपाल प्रसाद पाण्डेले पेशा सानो ठूलो नहुने र सरसफाइकर्मीहरुको मेहनत विना स्वच्छ र सभ्य समाजको परिकल्पना पनि गर्न नसकिने कुरामा जोड दिए ।
त्यसैगरी, नेपाल जेसीजका राष्ट्रिय ट्रेनर जेसी रमेश अर्यालले सरसफाइकर्मीहरुलाई उत्प्रेरित गर्दै उनीहरुको आत्मसम्मान र स्वास्थ्य सुरक्षाका सवालमा सबै सरोकारवाला निकाय गम्भीर हुनुपर्ने धारणा राखे । अर्का पूर्व अध्यक्ष सिनेटर मोहन न्यौपानेले समाजको फोहोर उठाउनेहरु आफैंमा पवित्र र आदरणीय हुने बताउँदै जेसीज सधैं श्रमको सम्मानमा अग्रसर रहने उल्लेख गरे ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाको फोहोरमैला शाखामा कार्यरत ४५ जना सरसफाइकर्मीहरुलाई मञ्चमै बोलाएर प्रमुख अतिथि, अध्यक्ष तथा पूर्व अध्यक्षहरुले संयुक्त रुपमा प्रशंसा पत्र प्रदान गरेका छन् । सम्मानित हुँदा सरसफाइकर्मीहरुको अनुहारमा छुट्टै उत्साह र खुसी झल्किएको देखिन्थ्यो ।
कार्यक्रमका अध्यक्ष तथा बुटवल जेसीजका अध्यक्ष सिनेटर यदुमणि पोख्रेलले जेसीज सप्ताह -२०२६ केवल उत्सव मात्र नभई सामाजिक रुपान्तरणको अभियान पनि भएको प्रष्ट पारेका थिए । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीजको दर्शनलाई आत्मसात गर्दै हामीले यो पटक समाजका वास्तविक सेवकहरुलाई सम्मान गर्ने निर्णय गरेका हौं । स्वच्छ, स्वस्थ र सभ्य समाज निर्माणमा उहाँहरुले पुर्याउनुभएको अथक योगदानको परिश्रमलाई हामी नमन गर्दछौं, उनले भने ।























