नारायणकाजीको आरोपः बालेन सरकारले लोकतन्त्रमाथि हमला गर्याे


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले रास्वपा नेतृत्वको वर्तमान सरकारले राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रमाथि गम्भीर प्रहार गरिरहेको आरोप लगाएका छन्।

नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले सरकारका पछिल्ला गतिविधिले मुलुकलाई गलत दिशातर्फ धकेलिरहेको दाबी गरे। संसदमा नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिलाई रास्वपाका नेताहरूले समर्थन गरेको भन्दै उनले राष्ट्रिय हितविपरीत गतिविधि भएको टिप्पणी गरे।
श्रेष्ठले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्य र अर्थतन्त्रप्रति सरकार प्रतिबद्ध नरहेको आरोप लगाउँदै संविधान संशोधनका नाममा यसको मूल मर्म कमजोर पार्ने प्रयास भइरहेको बताए। उनले संविधान र लोकतन्त्रको रक्षा केन्द्रमा राखेर मात्र संशोधन प्रक्रिया अघि बढ्नुपर्नेमा जोड दिए।

उनले शैक्षिक संस्थालाई दलीयकरणमुक्त बनाउने बहानामा विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयास भइरहेको आरोप पनि लगाए।
सरकार एकातिर दलीयकरण अन्त्यको कुरा गर्ने र अर्कोतर्फ आफ्ना पक्षका व्यक्तिलाई संवैधानिक तथा न्यायिक निकायमा नियुक्त गर्ने दोहोरो चरित्रमा लागेको उनको भनाइ थियो।
सुकुम्बासीमाथिको व्यवहार अमानवीय भएको उल्लेख गर्दै श्रेष्ठले डोजर र सुरक्षाकर्मी प्रयोग गरेर जबर्जस्ती हटाइएको तथा होल्डिङ सेन्टरमा आधारभूत सुविधाविहीन अवस्थामा राखिएको आरोप लगाए। उनले राष्ट्रिय स्वाधीनता, संविधान, लोकतन्त्र र श्रमजीवी वर्गको अधिकारमाथि चुनौती बढ्दै गएको दाबी गर्दै कम्युनिस्ट आन्दोलनले आत्मसमीक्षा गरी वैचारिक र संगठनात्मक रुपमा सुदृढ बन्दै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए।























