विष्णु पौडेलविरुद्ध तेस्रो पटक थपियो ६ दिनको म्याद

काठमाण्डौ, असार १८ गते । एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलमाथि अनुसन्धान गर्नका लागि फेरी ६ दिन म्याद थप गरिएको छ । विशेष अदालतले बिहीबार तेस्रोपटक म्याद थपिएको जानकारी गराएको छ ।

अदालत प्रशासनका अनुसार विशेषका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासबाट म्याद थपिएको हो ।

“सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि पेस भएकोमा बिहीबार तेस्रोपटक ६ दिन म्याद थप भएको दालतको सूचनामा उल्लेख छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका निम्ति उनलाई अदालतमा पेस गरेको थियो ।

विशेष अदालतले पौडेललाई थुनामै राखेर अनुसन्धान गर्न पहिलोपल्ट सात दिन म्याद दिएको थियो । त्यसपछि असार १५ गते तीन दिन म्याद थप गरेको थियो । ललितपुरको सानेपास्थित प्रहरी हिरासतमा रहेका पौडेलमाथि श्रीराम टोबाको प्रालिको २० प्रतिशत सेयर हिमालयन एसेट म्यानेजमेन्टलाई सस्तो मूल्यमा बेच्न दबाब दिएर लाभ लिएको आरोप लगाइएको छ ।

उक्त कम्पनीमा इन्फिनिटी होल्डिङ्सको शतप्रतिशत लगानी छ । त्यो कम्पनी सम्पत्ति शुद्धीकरण कसुरमै पक्राउ परी अनुसन्धानकै क्रममा रहेका दीपक भट्टको हो । भट्टको सम्पत्तिमा पौडेल जोडिएपछि उनी अनुसन्धानमा तानिएका हुन् । विभागले थप छानबिन गरिरहेको छ ।

पौडेललाई यही असार ८ गते प्रहरीले सुर्खेतबाट पक्राउ गरेर काठमाण्डौ लगेको थियो ।