रक्तिम सांस्कृतिक अभियान सफल – रक्तिम

बुटवल, असार १६ गते । देशका विभिन्न शहरमा सांस्कृतिक अभियान चलाएको रक्तिम सांस्कृतिक अभियानले आफ्नो सांस्कृतिक अभियान सफल भएको बताएको छ ।

रक्तिम सांझको नामबाट चलाईएको विशेष सांस्कृतिक अभियान सफलतापूर्वक सम्पन्न भएको रक्ति सांस्कृतिक अभियानका अध्यक्ष गिरिप्रसाद बुढाले बताएका छन् ।

अध्यक्ष बुढाले मंगलबार विज्ञप्ती जारी गरी वर्तमान उपभोक्तावादी, व्यक्तिवादी तथा विकृत सांस्कृतिक हस्तक्षेपविरुद्ध जनवादी, प्रगतिशील र वैज्ञानिक संस्कृतिको पक्षमा सांस्कृतिक संघर्ष आवश्यक रहेको बताएका छन् ।

विज्ञप्ति अनुसार नेपाली समाजमा पाश्चात्य उपभोक्तावादी संस्कृतिको प्रभाव बढ्दै जाँदा साहित्य, कला र संस्कृतिको क्षेत्रमा विकृति, विसंगति, अश्लीलता, अन्धविश्वास, निराशावाद र अवसरवाद मौलाउँदै गएको उल्लेख गरिएको छ । यस्ता प्रवृत्तिविरुद्ध सांस्कृतिक मोर्चालाई सुदृढ बनाउँदै जनतालाई क्रान्तिकारी चेतनाले सुसज्जित गर्नु आजको आवश्यकता भएको अभियानको निष्कर्ष छ ।

गत जेठ १ देखि सुरु गरिएको विशेष सांस्कृतिक यात्रा असार १४ गते दाङको घोराहीमा सम्पन्न भएको विज्ञप्तिमा जनाइएको छ । यात्राका क्रममा काठमाडौँ, चितवन, बागलुङ, पोखरा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, बुटवललगायत देशका विभिन्न जिल्लामा सांस्कृतिक कार्यक्रम र जनभेटघाट सहित सम्पन्न भएका थिए ।

अभियानले राष्ट्रियता, गणतन्त्र, जनजीविकाका सवालसँगै भ्रष्टाचार, बेरोजगारी, सामाजिक विभेद, विकृति र सांस्कृतिक विचलनविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ कार्यक्रमहरू आयोजना गरेको जनाएको छ ।

अभियानले सांस्कृतिक आन्दोलनलाई जनताको मुक्ति संघर्षसँग जोड्दै परिवर्तनको पक्षमा सशक्त सांस्कृतिक हस्तक्षेप जारी राख्ने प्रतिबद्धता पनि दोहो¥याएको छ ।

विज्ञप्तिमा अभियानलाई सफल बनाउन योगदान पु¥याउने विभिन्न जिल्ला समिति, सांस्कृतिककर्मी, कलाकार, आयोजक, पत्रकार, शुभेच्छुक तथा सहयोगीप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ ।

आगामी दिनमा पनि जनपक्षीय संस्कृति निर्माण, प्रगतिशील कला–साहित्यको विकास र समाज रूपान्तरणको अभियानलाई अझ प्रभावकारी बनाउने रक्तिम सांस्कृतिक अभियानले प्रतिबद्वता जाहेर गरेको छ ।