पर्यटन तथा युवा नीति ल्याउन सरकारसंग माग

बुटवल, असार १५ गते । पर्यटन व्यबसायलाई चलायमान बनाउनु पर्ने र त्यसका लागि पर्यटन तथा युवा नीति ल्याउन रुपन्देहीका पर्यटन व्यबसायीले सरकारसंग माग गरेका छन् । पर्यटन व्यवसाय मुलुकको आर्थिक सम्वृद्दिको मुल आधार भएको बताउंदै नयां पुस्ताका युवाहरुलाई जोड्ने गरी पर्यटन तथा युवा नीति चाहिने उनीहरुको भनाइ छ ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीको २८ औँ स्थापना दिवस तथा २५ औँ वार्षिक साधारणसभामा बोल्ने यर्पटन व्यवसायीले पर्यटन क्षेत्रको विकासमा नीतिगत तथा कानुनी जटिलता बाधक रहेको बताए ।

उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पर्यटन क्षेत्रको विकासका लागि बुटवल उपमहानगर बुटवलका पर्यटन व्यवसायीसंग मिलेर काम गर्न तयार रहेको बताए । प्रमुख पाण्डेले बुटवलको होटल तथा पर्यटन व्यवसायको इतिहास खोजेर दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिए ।

बुटवललाई केन्द्रमा राखेर पहाडी क्षेत्रसँग जोडिने पर्यटन प्याकेजको विकास गर्नुपर्ने बताउंदै नेवार, झाउरे, सरायलगायत विभिन्न जातजातिका सांस्कृतिक नृत्य संरक्षण गर्नुपर्ने र तयसका लागि उपमहानगरले सहयोग पुराउने प्रतिबद्दता जनाए ।

संघका अध्यक्ष माधवकुमार खनालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै होटल व्यवस्थापन, खाद्य स्वच्छता, नेतृत्व विकास तथा उद्यमशीलता सम्बन्धी तालिम सञ्चालन गरिएको जानकारी दिए । उनले बुटवल खाना महोत्सव, मौलिक परिकारको प्रवद्र्धन, पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम तथा नगरस्तरीय पर्यटन समिति गठनका लागि पहल गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कर्यक्रममा संघका संस्थापक सचिव माधवप्रसाद नेपाल, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रशान्त श्रीवास्तव, याक ब्रुअरी प्रालिका प्रीतम गिरि, संघका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारी, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा तथा महासचिव केशवराज कँडेलले पर्यटन व्यवसायीका समस्याप्रति राज्य पक्ष अझैपनि उदासिन रहेको गुनासो गरे ।

संघका कोषाध्यक्ष अर्जुन पोखरेलका अनुसार संस्थाको विकासमा निरन्तर योगदान पु¥याएका पूर्व अध्यक्ष, सल्लाहकार तथा सहयोगदातालाई सम्मान पत्रले सम्मान गरिएको छ ।