युद्ध र शान्तिबारे काठमाण्डौमा अन्तरक्रिया

काठमाडौँ, असार १८ गते । अखिल नेपाल बुद्धिजीवी सङ्घको आयोजनामा ‘वर्तमान विश्वमा युद्ध र शान्तिको समस्या’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, क्रान्तिकारी पार्टी तथा संगठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) की प्रमुख संयोजक मोनिका गार्टनरको प्रमुख आतिथ्यमा २०८३ असार १८ गते बागबजारमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा महामन्त्री सिंह र प्रमुख अतिथि गार्टनरले लिखित मन्तव्य प्रस्तुत गरेका थिए ।

महामन्त्री सिंहको मन्तव्य राष्ट्रिय जनमोर्चाका नेता वासुदेव पोखरेलले वाचन गरेका थिए । त्यस्तै अंगे्रजीमा भीष्म जोशीले रूपान्तर गरेका थिए ।

सो अवसरमा मन्तव्य राख्दै राजमो कार्यवाहक अध्यक्ष रश्मिराज नेपालीले युद्ध र शान्तिका ऐतिहासिक पाटा हुने गरेको दाबी गरे । विश्वमा आफ्नो प्रभुत्व कायम राख्न साम्राज्यवादीले युद्ध जारी राख्ने बताउँदै उहाँले कम्युनिस्ट क्रान्तिकारीले त्यसको क्रान्तिकारी उपयोग गर्ने गरेको इतिहासको स्मरण गराए ।

‘प्रथम विश्वयुद्धबाट रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो भने दोस्रो विश्वयुद्धपछि चीनमा सर्वहारा क्रान्ति सम्पन्न भएको बताउंदै अध्यक्ष नेपालीले कम्युनिस्ट, वामपन्थी र सम्पूर्ण साम्राज्यवादी शक्तिको सहकार्यमा विश्वव्यापी रूपमा युद्ध विरोधी शान्ति अभियान अगाडि बढाउनुपनमा जोड दिए ।

आइकोरका सदस्य क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश वलीले आधारभूत रूपमा युद्धको मुख्य स्रोत निजी सम्पत्ति रहेको बताए । उनले नीजि सम्पत्तिको आधारमा एकाधिकार पुँजीवाद अर्थात् साम्राज्यवादी स्वार्थ प्रभुत्वमा रहँदासम्म युद्ध भइरहन्छ भने । लेनिनलाई उद्धृत गर्दै उहाँले साम्राज्यवादी युद्धको अन्त्य सर्वहारा वर्गले गर्ने बताए ।
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अन्तर्राष्ट्रिय सङ्घसंस्था कमजोर हुनुको कारणले युद्ध झन् भयावह बन्दै गएको बताए ।
प्रथम र दोस्रो विश्वयुद्धको अनुभवबाट संयुक्त राष्ट्र संघ गठन भएको उदाहरण दिँदै नेता ज्ञवालीले भने – ‘अहिले राष्ट्र सङ्घजस्ता अन्तर्राष्ट्रिय सङ्घसंस्था कमजोर भएकाले साम्राज्यवादी अमेरिका हाबी भएको छ ।

साम्राज्यवादले लादेको युद्ध रोक्न सर्वप्रथम देशभक्तिको भावना जागृत गराउनुपर्ने आवश्यकतामा उनको बताउंदै उनले भने जेनजी आन्दोलनकै निरन्तरतास्वरूप फागुन २१ गतेको चुनाव भएर साम्राज्यवादपरस्त शक्ति अहिले सत्तारूढ भएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले वर्तमान विश्व अघोषित तेस्रो विश्वयुद्धको सङ्घारमा रहेको दाबी गरे ।अहिले सर्वसत्तावादी तथा फासिवादी सोचका कारण युद्ध भइरहेको बताउँदै यही कारणले अहिले इरान, युक्रेन, गाजासँगै भेनेजुयला प्रकरण अगाडि आएको बताए ।

‘अहिलेसम्म अमेरिकाले ५१ ओटा देशमा राजनीतिक कू गरेको अवस्था छ । उसले अन्तर्राष्ट्रिय सन्धिसम्झौता तथा कूटनीतिक सम्बन्धलाई निषेध गरिरहेको बताउंदै मन्तव्यको क्रममा उहाँले विश्वशान्तिका लागि संसारभरिका उत्पीडित राष्ट्रका जनता एकजुट हुनुपर्नेमा जोड दिए ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठले अहिलेका साम्राज्यवादी युद्धमा फौज, मिडिया, पैसा र प्रविधि सबै एकैसाथ उपयोग भएको बताउंदै उनले भने सबै माध्यम एकैसाथ प्रयोग भइरहेकाले अहिलेका युद्ध भयावह प्रकृतिका देखिएका छन् ।’
मन्तव्यको क्रममा साम्राज्यवादी प्रभुत्व हाबी भइरहे पनि विषयको अर्को पाटोस्वरूप विश्व बहुधु्रवीय बन्दै गइरहेकोतर्फ हाम्रो ध्यान जानुपर्ने बताए ।

अखिल नेपाल प्रगतिशील बुद्धिजीवी संघका महाद्वीप पोखरेलले अहिले साम्राज्यवादीले प्राकृतिक स्रोतसाधन जहाँ जहाँ छ, त्यहाँ त्यहाँ युद्ध मच्याउने गरेको बताए । नेपाल पनि प्राकृतिक स्वरूपले परिपूर्ण रहेको बताउँदै उहाँले एमसिसी पारित गर्दा मसाल र नेमकिपाले मात्रै विरोध गरेको स्मरण गरे ।

अहिले देशमा अमेरिकी डिजाइनमा कठपुतली सरकार बनेको स्पष्ट पार्दै उहाँले कम्युनिस्ट भनिएकाले वामपन्थी चरित्र गुमाउनु चिन्ताको विषय रहेको बताए ।

कार्यक्रममा जर्मन कम्युनिस्ट पार्टी (एमएलपिडी) का नेता थोमसको पनि आतिथ्य रहेको थियो ।

बुद्धिजीवी संका अध्यक्ष प्राडा श्रीधर गौतमको अध्यक्षता, केन्द्रीय प्रतिनिधि समीर सिंहको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा युद्ध विरोधी अन्तर्राष्ट्रिय मोर्चाका उपाध्यक्ष सुवास जिसीले स्वागत गरेका थिए ।