फ्ल्यास समाचारः कांग्रेस सांसद अभिषेकप्रताप शाह र नगरप्रमुख रजतप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी


बुटवल । कपिलवस्तु जिल्ला अदालतले कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा) माथि भएको आक्रमणको आरोपमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । पीडित शर्माको किटानी जाहेरीका आधारमा अदालतले बिहीबार प्रहरीलाई उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

कृष्णनगर क्षेत्रमा मौलाएको विकृति र आपराधिक गतिविधिविरुद्ध निरन्तर आवाज उठाउँदै आएका कारण आफूमाथि योजनाबद्ध तरिकाले सांघातिक आक्रमण भएको अध्यक्ष शर्माको भनाई छ । उनी भन्छन्, मलाई सांसद शाह र नगरप्रमुख शाहसहित १५ देखि २० जनाको समूहले आफ्नो निवासमै प्रवेश गरी आफूमाथि अन्धाधुन्ध कुटपिट गरिएको हो । कुटपिटबाट टाउको र हातमा चोट लागेका अध्यक्ष शर्माको यसअघि भैरहवास्थित मेडिकल कलेजमा उपचार समेत गरिएको थियो ।
कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर प्रसाद भट्टका अनुसार अदालतबाट अनुमति प्राप्त भएसँगै प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाइसकेको बताएका छन् ।

पक्राउ पुर्जीपछि सांसद शाहको स्टाटस
आदरणीय मेरा क्षेत्रवासी साथीभाई शुभचिन्तक र पार्टीका साथीहरु सबैमा नमस्कार जय नेपाल । आज सम्मानित जिल्ला अदालतबाट मेरो नाममा पक्राउ पुर्जी जारी भएको जानकारी मैले पाएँ । कसैलाई सहयोग गर्न बचाउन जाँदाको प्रतिफल मैले पाएको छु, यो केवल एउटा राजनैतिक प्रतिशोध, चुनावी हारको पीडा, विपक्षीहरुको षड्यन्त्र र प्रशासनलाई समेत गुमराह बनाई मलाई मेरो चरित्र हत्या गर्ने प्रपञ्च बाहेक अरु केही होईन ।
खाएको विष लाग्ने हो लाग्नु पनि पर्छ तर न खाएको विष लाग्दैन मलाई मेरो देश को संविधान कानुन र सम्मानित न्यायलय प्रति पूर्ण विश्वास छ । केही दिनमा सत्यता बाहिर आउने नै छ कानुनले निर्वाध रुपमा आफ्नो काम गरोस् म मेरो भागको कानुनी लडाइँ विधि सम्मत लड्ने नै छु र पूर्ण रुपमा कानुनी प्रक्रिया मा सहयोग गर्न तयार छु ।
आरोप लाग्नु र दोषी ठहर हुनु फरक कुरा हो मैले राजनैतिक जीवन मा तपाईंहरुको अभूतपूर्व जनसमर्थन र माया आशीर्वाद प्राप्त गरेको छु तपाईं सम्पूर्णको सेवामा विचलित नभई सदैव लाग्ने छु । मलाई माया गर्ने मेरा साथीभाई शुभचिन्तक कार्यकर्ता साथीहरु कोही कसैले पनि कानुन भन्दा बाहिर कुनै पनि क्रियाकलाप नगर्न र धैर्य गर्न अपिल गर्दछु ।























