कांग्रेस बीपी र नेपाली कांग्रेसबीच एकता संवाद


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजकत्वमा गठित अन्य राजनीतिक दल संवाद समितिले आज नेपाली कांग्रेस बीपीसँग छलफल गरेको छ । दुई दल एकताका आधार सम्बन्धमा कांग्रेस बीपीले संवाद गर्ने पत्र पठाएसँगै आज पुनः छलफल भएको केसीको सचिवालयले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट संयोजक केसीसँगै सदस्यद्वय उज्जलप्रसाद बराल र प्रदीपराज शर्मा तथा नेपाली कांग्रेस बीपीको तर्फबाट सभापति सुशीलमान शेरचन, झलकनाथ वाग्ले र अशोक खड्का उपस्थित रहेका थिए ।
छलफल सकारात्मक रहेको संयोजक केसीका सचिवालय सदस्य सरोज केसीले जानकारी दिए । यसअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २ गतेको बैठकले केसीको संयोजकत्वमा संवाद समिति गठन गरेको थियो ।

विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा समाहित हुन खोज्नेहरु र विभिन्न पार्टी नै समायोजन गर्ने सम्बन्धमा विषयहरु उठेपछि नेता केसीको संयोजकत्वमा यो समिति नै गठन भएको हो। यस क्रममा समितिले विभिन्न पक्षहरुसँग संवाद गरिरहेको जनाएको छ । गत वर्ष फागुन १७ गते नै नेपाली कांग्रेस बीपी र नेपाली कांग्रेस पार्टीबीच एक खालको सहमति भएको थियो।
यो सहमतिले मूर्त रुप लिन नपाएकामा पुनः नेपाली कांग्रेस बीपीले केन्द्रीय कार्यसमितिको बैठक गरी गत साउन ६ गतेको पत्रमार्फत पुनः संवाद गर्ने सन्देश दिएसँगै आज दुवै दलका प्रतिनिधिमण्डलबीच दुई दलबीच एकताको आधार सम्बन्धमा बृहत छलफल भएको हो ।























