राजमो एकताबद्द छ, भ्रममा नपरौ अध्यक्ष केसी

अर्घाखांची, असोज १५ गते । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले प्रेसवक्तव्य जारी गरी बताएका छन् । अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चामाथि एमालेले भ्रम फिजाएकोप्रति आपत्ती जनाउंदै कसैको भ्रममा नपर्न अध्यक्ष केसीले आग्रह गरेका छन् ।

“जिल्ला समितिको सिङ्गो टिम क्रान्तिकारी उत्साहका साथ एकमना एकतासहित पार्टीमा क्रियाशील रहेको कुरा आम पार्टीपङ्क्ति जानकार नै छ” अध्यक्ष केसीले वक्तव्यमा भनेका छन् ।

“हाम्रो पार्टी परित्याग गरी सार्वजनिक रूपले नै स्वतन्त्र भएको घोषणा गरेका, पार्टीको कारबाहीमा परेका वा लामो समयदेखि पार्टीसँग सम्बन्धविच्छेद गरी आफ्नो पेसाव्यवसायमा रहेको व्यक्तिहरूलाई राष्ट्रिय जनमोर्चाका नेताकार्यकर्ता भनेर भ्रम छर्नु एमालेको हद दर्जाको राजनीतिक बेइमानी हो” वक्तव्यमा भनिएको छ– “एमालेले हाम्रो पार्टीका विरुद्ध गरेको कुप्रचारको हामीले कडा शब्दमा विरोध तथा भत्र्सना गर्दछौँ ।”

आफ्नो जिल्लाको मुख्यमन्त्री आएको कार्यक्रम हेर्न गएकालाई समेत चौतारीमा उभिएर “चौवन्नी” मा सदस्यता बाडेको उल्लेख गर्दै वक्तव्यमा माननीय मुख्यमन्त्रीलाई पदीय गरिमालाई नघटाउनसमेत आग्रह गरिएको छ ।

वक्तव्यमा एमालेले फैलाएका सबै भ्रमहरूलाई चिर्दै पार्टीमा एकताबद्ध भएर लाग्न सम्पूर्ण पार्टीपङ्क्ति तथा सदस्यहरूलाई अपिलसमेत गरिएको छ ।