यस्तो छ प्रतिनिधि सभा बैठकको कार्यसूची

काठमाडौँ । आजबाट संसदको हिउँदे अधिवेशन शुरु हुँदैछ । जसअनुसार संघीय संसद सचिवालयले प्रतिनिधि सभातर्फको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठक दिउँसो १ बजेबाट शुरु हुनेछ ।

जसअनुसार सभामुख देवराज घिमिरेले अधिवेशन आह्वान सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने छन् भने उनले नै राष्ट्रपति कार्यालयको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयवाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी दिनेछन् ।

त्यसपछि आजको बैठकमा प्रतिनिधि सभा नियमावली २०७९ नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसदहरूको नामावली सार्वजनिक गर्नेछन् भने बैठक आरम्भको अवसरमा दलीय मान्यता अनुसारको धारणा र मन्तव्य राख्ने क्रम शुरु हुनेछ ।

साथै सुशासन प्रबर्धन तथा सार्वजनिक सेवा प्रवाह सबन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश–२०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्ने संसद सचिवालयले जनाएको छ ।

उता आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश–२०८१, निजीकरण (पहिलो संसोधन) अध्यादेश–२०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ भने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गर्नेछन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।साथै बैठकमा पुर्वसभामुख दमननाथ ढुंगाना तथा संविधान सभा सदस्य रामजीप्रसाद शर्माको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिनेछ ।