बुटवलको प्राथमिकतामा शिक्षा, स्वास्थ्य, सीप र रोजगार

बुटवल, जेठ २९ गते । रुपन्देही बुटवल उपमहानागरपालिकाले शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाइ प्राथमिकता दिएको छ ।
शुक्रबार उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ। । नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ ।

नगर प्रमुख खेलराज पाण्डेयले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम शुक्रबारकै दोस्रो बैठकले सर्वसम्म रुपमा अनुमोदन गरेको छ ।

नीति तथा कार्यक्रममा बुटवलको दीर्घकालीन सोच “समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर” लाई कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ। यसका लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग र व्यापारको समुन्नतिसँगै सूचना प्रविधिमैत्री, हरियालीयुक्त, सुरक्षित र सुशासित शहर निर्माणलाई प्राथमिकतामा राखिएको छ।
नीति तथा कार्यक्रम अनुसार “पढाइसँगै रोजगार” अभियानलाई थप विस्तार गर्ने, युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने तथा निजी क्षेत्रसँगको सहकार्यलाई विकासको मुख्य आधार बनाउने नीति अघि सारेको छ। बुटवललाई आर्थिक तथा पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्न आर्थिक सम्मेलन, पर्यटन सम्मेलन तथा क्षेत्रीय सहकार्यका कार्यक्रम सञ्चालन गरिने छ।

एपमहानगरले शिक्षा क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिँदै उपमहानगरपालिकाले “शिक्षामा सबल, बुटवल अब्बल” अभियानलाई निरन्तरता दिने भएको छ। नगर प्रमुख शैक्षिक विकास कार्यक्रममार्फत विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार सुधार गरिनेछ। सबै आधारभूत तथा माध्यमिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि आईसीटी प्रयोगशाला स्थापना गर्ने, माध्यमिक तहमा ई–लर्निङ पोर्टल सञ्चालन गर्ने तथा सम्पूर्ण सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने लक्ष्य रहेको छ ।

विद्यार्थीलाई पढाइसँगै सीप र रोजगारसँग जोड्न इन्स्योर परियोजनासहित विभिन्न साझेदार संस्थासँग सहकार्य गरिनेछ। “छोरी पढाऔँ, समाज बनाऔँ” अभियान अन्तर्गत छात्राहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षामा आकर्षित गर्न विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ।

विपन्न, असहाय तथा जोखिममा रहेका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरिनेछ। उक्त कोषमार्फत छात्रवृत्ति, पोशाक, शैक्षिक सामग्री तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइने उपमहानगर प्रमुख खेलराज पाण्डेले बताए ।