जन्ती बस दुर्घटनाः बैतडी र बझाङ शोकमा

काठमाडौँ । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ। पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १११९ नम्बरको बस बिहीबार बडगाउँ मोडमा दुर्घटनामा परेको थियो। प्रहरीका अनुसार आठ जनाको घटनास्थलमै र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यो भयावह दुर्घटनामा ३४ जना घाइते भएका छन्, जसको अहिले डडेल्धुरा, धनगढी र बझाङका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। राहतको कुरा के छ भने, उक्त बसमा बेहुला र बेहुली भने सवार थिएनन्।

प्रहरी प्रमुख दीपककुमार रायका अनुसार घटनास्थलमा ज्यान गुमाउनेहरुमा बझाङको बित्थडचिर गाउँपालिकाका केशवराज जोशी, अशोकराज जोशी, वसन्त जोशी र विसनदत्त जोशी छन्।

त्यस्तै, केदारस्यु गाउँपालिकाका मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिकाका वसन्तराज रतला र बैतडी पुर्चौडीकी पुष्पा अवस्थीले पनि घटनास्थलमै ज्यान गुमाएका छन्। एक जना मृतकको भने अझै सनाखत हुन सकेको छैन। डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेहरुमा बित्थडचिरका विसनदत्त जोशी, दीपकराज जोशी र किसनदत्त जोशी तथा केदारस्यु पालिकाका केशवराज भट्ट र पुर्चौडीका सुशील जोशी रहेका छन्।

भिरालो र साँघुरो सडकका कारण बस नियन्त्रण बाहिर गएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटना लगत्तै स्थानीय र सुरक्षाकर्मीहरु उद्धारमा खटिएका थिए। घाइतेहरुमध्ये केहीको अवस्था अझै चिन्ताजनक रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने डर देखिएको छ। यो घटनाले बैतडी र बझाङका गाउँहरुमा ठुलो शोक छाएको छ। खुसीयाली मनाउन हिँडेका जन्तीहरु अचानक यस्तो विपत्तिमा परेपछि पीडित परिवारहरु स्तब्ध बनेका छन्।