लुम्बिनीमा रेबिज भ्याक्सिनको हाहाकार, एक महिनादेखि सेवा ठप्प

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालसहित लुम्बिनी प्रदेशका प्रमुख अस्पतालहरुले रेबिजविरुद्धको भ्याक्सिन (एआरभी) को चरम अभाव खेप्दै आएका छन् । विगत एक महिनाभन्दा बढी समयदेखि सरकारी मौज्दात सकिएपछि कुकुर, स्याल लगायत जनावरको टोकाइबाट हुने रेविजबिरुद्धको भ्याक्सिन नपाएर नागरिकहरु रेबिजको उच्च जोखिममा परेका छन् ।

बुटवलस्थित प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र सरकारी अस्पतालहरुमा भ्याक्सिनको मौज्दात शून्य छ । सरकारी अस्पतालमा नपाएपछि बाहिरका औषधि पसलमा खोज्दा पनि भ्याक्सिन पाउन मुस्किल भएको छ, उपलब्ध भइहाले पनि नागरिकहरु चर्को मूल्य तिर्नुपर्ने बाध्यता छन् ।

दैनिक कयौँ रेबिजका बिरामीहरु भ्याक्सिन लगाउन अस्पताल पुग्छन् । बाहिरका औषधि पसलमा समेत भ्याक्सिन नपाउँदा वा अत्यधिक महँगो पर्दा बिरामी र तिनका आफन्तहरु स्वास्थ्यकर्मीसँग रिसाउने र झै झगडा गर्ने स्थिति आएको छ । सरकारी अस्पतालमा निःशुल्क पाइने खोप बाहिर चर्को मूल्यमा किन्नुपर्ने बाध्यता छ । भ्याक्सिन नभएपछि सेवाग्राहीहरु रित्तो हात फर्किन बाध्य छन् ।

हामीले प्रदेश आपूर्ति केन्द्रबाट भ्याक्सिन नपाएको एक महिना भइसक्यो । दैनिक बिरामी आउँछन्, हामीले छैन भन्नुपर्छ लुम्बिनी प्रादेशिक अस्पतालको एआरभी शाखा प्रमुख तिलक गौतमले बताए । उनी भन्छन्, भ्याक्सिन नपाएपछि गत फागुन २९ गतेदेखि हामीले सूचना नै जारी गरेर चैत १ गतेदेखि भ्याक्सिन उपलब्ध नभएसम्म सेवा प्रवाह गर्न नसकिने व्यहोरोको जानकारी दिएका हौं, रेबिज एक प्राणघातक रोग हो, जसको लक्षण देखिएपछि उपचार असम्भव हुन्छ र मृत्यु निश्चित छ । समयमै भ्याक्सिन नलगाएमा यसले भयावह रुप लिन सक्छ । संघीय सरकारले तोकेको समयमा खरिद नगर्दा र आपूर्ति व्यवस्थापनमा मौज्दात नहुँदा लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा भ्याक्सिनको संकट गहिरिदै गएको जिल्ला अस्पतालहरुले जनाएका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार भ्याक्सिनको माग भएतापनि केन्द्रमा मौज्दात नहुँदा आपूर्ति गर्न नसकिएको र संघीय स्वास्थ्य मन्त्रालयमा पत्राचार गरिएको जनाएको छ । संघीय सरकारले समयमै खरिद प्रक्रिया अगाडि नबढाउँदा यो समस्या सिर्जना भएको हो, एक स्वास्थ्यकर्मीले भने । अघिल्लो आर्थिक वर्षमा भएको मौज्दात पनि सकिएपछि नयाँ भ्याक्सिन आएको छैन् । बुटवल र आसपासका क्षेत्रका बासिन्दा भ्याक्सिन खोज्दै भारतीय सीमावर्ती शहरहरु धाउन बाध्य भएका छन्, जसले गर्दा सर्वसाधारणले सास्ती र आर्थिक भार व्यहोर्नु परेको छ ।