बुटवलमा एरोमा हस्पिटालिटीका विद्यार्थीलाई भव्य सम्मानः झापामा आयोजित कुलिनरी प्रतिस्पर्धामा प्रथम

बुटवल । झापाको दमकमा सम्पन्न दोस्रो राष्ट्रिय कुलिनरी प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि चुम्न सफल एरोमा हस्पिटालिटी बुटवलका विद्यार्थीलाई एक भव्य कार्यक्रमकाबीच बुटवलमा सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली शेफ संघको आयोजना तथा व्यवस्थापनमा जेठ १ र २ गते सम्पन्न उक्त राष्ट्रिय स्तरको प्रतियोगितामा देशभरका २३ वटा टिमलाई पछि पार्दै एरोमा हस्पिटालिटीका विद्यार्थीहरुले प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।

प्रतियोगितामा उत्कृष्ट बनेर फर्किएका विद्यार्थीहरुको हौसला बढाउन र उनीहरुको योगदानको कदर गर्न एरोमा हस्पिटालिटीले शुक्रवार (आज) बुटवलमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना गरेको छ । उक्त कार्यक्रममा विजयी विद्यार्थीहरुलाई कदर पत्रद्वारा सम्मान गरिएको छ । नेपाली मौलिक परिकारको प्रतियोगितामा एरोमा हस्पिटालिटीका तर्फबाट प्रतिनिधित्व गरेका विद्यार्थीहरुले नेपाली रैथाने र मौलिक खानाको उत्कृष्ट संयोजन प्रस्तुत गरेर विजेता भएका थिए ।

उनीहरुले पाल्पाको बटुक, पाल्पाको कोदोको लोकल रक्सी, चुकौनी, हाँसको मासु जस्ता विशुद्ध मौलिक सामग्रीको प्रयोगबाट विभिन्न आकर्षक तथा स्वादिष्ट परिकारहरु तयार पारेर प्रस्तुत गरेको बताएको छ । परिकारहरुको विविधतालाई उच्च मूल्याङ्कन गर्दै एरोमा प्रथम घोषित भएको थियो । देशभरका २३ वटा कलेज तथा होटल व्यवस्थापन सम्बद्ध टिमहरुबीच कडा प्रतिस्पर्धा भएको थियो ।

उक्त प्रतिस्पर्धामा आफ्नो कला र मौलिकताको उत्कृष्ट छाप छोड्न सफल एरोमा हस्पिटालिटीका विद्यार्थीले प्रथम स्थान हासिल गर्दै उपाधिसहित नगद एक लाख प्राप्त गरेका छन् । कार्यक्रममा बोल्दै वक्ताहरुले नेपाली मौलिक खानालाई विश्व बजारमा चिनाउन युवा शेफहरुले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

उनीहरुले पर्यटन प्रवर्द्धनमा समेत स्थानीय उत्पादन र रैथाने खानाको महत्त्वपूर्ण स्थान रहने चर्चा गर्दै एरोमा हस्पिटालिटीले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरेर राष्ट्रलाई नै गौरवान्वित बनाएको बताए । कार्यक्रममा एरोमा हस्पिटालिटीका सञ्चालक रुपेश बस्याल, व्यवस्थापक तथा प्रशिक्षकहरुले विद्यार्थीहरुको यो सफलताले आफूहरुलाई थप ऊर्जावान बनाएको र आगामी दिनमा पनि यस्तै गुणस्तरीय शिक्षा र व्यावहारिक ज्ञानमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।