अमेरिका र इरानको युद्धविराम लम्बियो ६० दिन

काठमाडौँ, जेठ १५ गते । अमेरिका र इरानबीचको युद्धविराम लम्बिएको छ । युद्धविराम ६० दिनका लागि लम्बाउने सहमति भएको छ । वार्ताबारे जानकार स्रोतलाई उद्धृत गर्दै रोयटर्सले दुई देशबिच युद्धविराम अवधि थप्न सहमति भएको उल्लेख गरेको छ ।

यस अवधिमा हर्मुज जलमार्गमा जहाजको आवतजावत सहज बनाउने सहमति भएको बताइएको छ । युद्धविराम अवधि थपिएको ६० दिनमा अमेरिका र इरानले आणविक कार्यक्रमजस्ता जटिल विषयमा वार्ता जारी राख्दै निष्कर्षमा पुग्ने भनिएको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बिहीबार वासिङटनमा पत्रकारसँगको कुराकानी गर्दै सम्झौता अत्यन्त नजिक पुगेको बताए । ‘सहमति नै भइसकेको अवस्था भने छैन तर त्यसमा हामी अत्यन्त नजिक छौँ । शतप्रतिशत ग्यारेन्टी गर्न सक्ने अवस्था बनिसकेको छैन तर अहिले सकारात्मक छौ’ उनले भने ।

इरानी समाचार संस्था तस्निमले भने सम्झौताको मस्यौदा अझै अन्तिम रूप नपाएको र पुष्टि नगरिएको जनायो । प्रस्तावित सहमतिअनुसार अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने, इरानी तेल बिक्रीसम्बन्धी केही प्रतिबन्ध खुकुलो बनाउने तथा हर्मुज जलमार्गमा अवरोधरहित ढुवानी सुनिश्चित गर्ने उल्लेख छ ।

विश्वको करिब पाँचौँ हिस्सा तेल तथा तरलीकृत प्राकृतिक ग्यास आपूर्ति यही मार्गबाट हुने भएकाले सम्भावित सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्न थालेको छ ।

हर्मुज जलडमरुमध्यमा जहाज आवतजावतसम्बन्धी प्रतिबन्ध हटाउने विषयमा सहमति भएको खबर सार्वजनिक भएको छ तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै अन्तिम स्वीकृति नदिएको र इरानले पनि सम्झौता अन्तिम रूप नलिइसकेको जनाएको छ ।

यदि वासिङटन र तेहरानका नेतृत्व तहबाट स्वीकृति प्राप्त भयो भने फेब्रुअरी २८ देखि सुरु भएको युद्धपछि शान्तितर्फको यो सबैभन्दा ठुलो कदम हुने भनेर रोयटर्सले लेखेको छ । युद्धविराम अप्रिलको सुरुआतदेखि लागु भए पनि पछिल्ला दिनमा दुवै देशबिच छिटफुट आक्रमण र प्रतिआक्रमण जारी थिए ।

अमेरिकाले सोमबार र मङ्गलबार दुईपटक दक्षिणी इरानमा हमला गरेको थियो । सेनाको केन्द्रीय कमान्डले आफ्ना फौजले पाँचओटा इरानी ड्रोन खसालेको र बन्दर अब्बास बन्दरगाहमा अर्को ड्रोन प्रक्षेपणको तयारी भइरहेको नियन्त्रण केन्द्रमा आक्रमण गरेको जनाएको छ । उता, कुवेतले आफ्नो भूमितर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक मिसाइल रोकेको दाबी गरेको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) ले भने बन्दर अब्बासमाथिको अमेरिकी आक्रमणमा संलग्न अमेरिकी सैन्य आधारलाई निशाना बनाइएको र पुनः आक्रमण भए ‘झनै निर्णायक जबाफ’ दिने चेतावनी दिएको तस्निमले जनाएको छ ।

तीन महिनादेखिको युद्धले हजारौँ मानिसको ज्यान लिएको, विश्व ऊर्जा बजारलाई अस्थिर बनाएको र मध्यपूर्वभर तनाव फैलाएको छ । युद्ध अन्त्यका लागि ट्रम्प प्रशासनले पटकपटक सम्झौतानजिक पुगेको दाबी गरे पनि इरानले प्रायः त्यसलाई कम महत्त्व दिएको वा अस्वीकार गरेको छ ।

इरानले शान्ति सम्झौताका लागि आर्थिक प्रतिबन्ध हटाउनुपर्ने, रोकिएका विदेशी सम्पत्ति फुकुवा गर्नुपर्ने र अमेरिकी सेना क्षेत्रबाट फिर्ता हुनुपर्ने माग राख्दै आएको छ । अमेरिकाले भने इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा अन्त्य गर्नुपर्ने अडान राखेको छ, जबकि तेहरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्रै भएको दाबी गर्दै आएको छ ।
समाचारका लागि एजेन्सी