गर्भपतन गराउंदा गीताको मृत्य, तीन जना नियन्त्रणमा

बुटवल, बैशाख ८ गते । पाल्पा बगनासकाली–२ की २९ वर्षिय गीता पाण्डेको गर्भपतन गराउंदा क्लिनिकको लापरवाहीका कारण मृत्यु भएको आफन्तले दावी गरेका छन् । गीताको ६ गते मृत्यु भएको थियो ।

पाल्पा बगनासकाली–२ निवासी प्रकाश पाण्डेका पत्नी गीता पाण्डेको करिब १२ हप्ताको गर्भमा समस्या देखिएपछि गर्भपतन गराउन गीता पाण्डे आफ्नै श्रीमानसंग बुटवल आएको बताईएको छ । श्रीमानसँग बैशाख ५ गते बुटवल गएर इट्टाभट्टीस्थित खत्री नर्सिङ होममा स्वास्थ्यकर्मीले गर्भपतनका लागि औषधि दिएको गीताका श्रीमान प्रकाश पाण्डेले बताए ।

सोही खत्री नर्सिङ होममा औषधी खुवाएपनि गर्भपतन सम्भव नभएपछि बुटवल अस्पताल लाइनस्थित जोनल क्लिनिक (फार्मेसी) मा लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि सोही क्षेत्रको इन्दुलेखा क्लिनिकमा लगेर पुनः औषधि प्रयोग गरिएको थियो । लगातारको उपचारपछि स्वास्थ्य अवस्था झन् गम्भीर बनेपछि अन्तिममा गीतालाई लुम्बिनी सिटी अस्पताल लगिएको थियो। अस्पताल पु¥याउनासाथ चिकित्सकहरुले मृत्यु भएको पुष्टि गरेका थिए ।

घटनापछि मृतकका श्रीमानले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएपछि प्रहरीले खत्री पोलिक्लिनिकका सन्ध्या बस्नेत, जोनल क्लिनिकका निलम घर्ती मगर र इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डेलाई नियन्त्रणमा लिएको छ ।

आरोपित तीनै जनालाई म्याद थपका लागि अगाडि बढाईएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी निशान्त श्रीवास्तवले बताए ।
स्वास्थ्य सेवामा देखिएको गैरजम्मेवारी भएको भन्दै मृतक गीताका आफन्त र शुभचिन्तकहरुले मंगलबार खत्री नर्सिङ होममा तालालगाई दिएका छन् ।

लापरबाही गर्ने मेडिकल र स्वास्थ्यकर्मीलाई कानुन अनुसार कारबाही हुनुपर्ने मृतकका श्रीमान प्रकाश पाण्डेले माग गरेका छन् ।