सरकारमा रहँदा जनताको सेबक बनेर काम गरे – लिला गिरी

बुटवल, २५ कात्तिक । लुम्बिनी प्रदेशका पूर्वमन्त्री लिला गिरीले लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारमा रहँदा आफुले जनताको सेवक बनेर काम गरेको बताएका छन् । प्रदेश सभामा निर्वाचित भएपछि जनताको शिर निहुरिन नदिने गरी सरकारमा रहेर काम गरेको उनले बताए ।
रुपन्देही क्षेत्र नं. २ (१) का एमाले उम्मेदवार समेत रहेका नेता गिरीले सरकारमा रहँदा सडक पुर्वधार, पर्यटन, धार्मिक पर्यटन, मठमन्दिर, बन तथा वातावरणको क्षेत्रमा प्रसस्त योजनाहरु छनोट गरेर काम अघि बढाएको स्मरण गर्दै उनले काम गर्दै गर्दा कहिल्यै पनि आफुले आफ्नो स्वार्थ नहेरेको बताए ।
आज बुटवल वडा नं. १० मा भएको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता गिरीले आफु सरकारमा रहँदा अघि बढाएका कतिपय पूर्वाधार, पर्यटन प्रबद्र्धनका योजनाहरु गठबन्धनको सरकारबाट कटौती गरिएको समेत बताए । ती कटौती गरिएका योजनाहरुलाई पूर्ण कार्यान्वयनका साथै नयाँ योजनाहरुको निर्माण गरेर प्रदेशलाई समृद्ध बनाउन आफु निर्वाचिनमा होमिएको बताउँंदै नेता गिरीले आफुलाई मतदात गर्न सवैलाई आग्रह समेत गरे ।
एमालेले प्रदेश सरकार सञ्चालन गर्दा चुस्त, आर्थिक मितव्ययीता, पारदर्शी, शुन्य भ्रष्टाचार नीतिलाई अंगिकार गरेपनि गठबन्धन सरकार बनेपछि प्रदेशमा भ्रष्टचार र आर्थिक अपारदर्शीता बढेको बताए ।
घरदैलोमा हिडेका गिरीलाई बुटवल १० का मतदाताले सडक, नाली व्यवस्थापन, चौराह देखि योगिकुटी सम्मको विद्युत लाईन व्यवस्थापन, खेलमैदानको व्यवस्थापन गरिदिन आग्रह गरेका थिए । नेता गिरीले आफु निर्वाचित भएपछि जनता संग गरेका सवै प्रतिबद्धता अक्षरस कार्यान्वयन गर्न प्रतिबद्ध गरेको बताएका थिए ।