बुटवलका आकाशे पुल प्रयोग नगर्नेलाई कारबाही गरिने

बजार व्यवस्थापनका लागि बुटवलका सरकारी कार्यालयका प्रमुखहरुको सामूहिक प्रतिवद्दता

बुटवल,मंसिर २३ गते । बुटवलको बजार व्यवस्थापनका लागि बुटवलस्थित सरकारी कार्यालयहरु एकसाथ अघि बढ्ने प्रतिवद्वता जनाएका छन् । बुटवल उपमहानगरपालिकाको संयोजनमा बुटवलमा बसेको सरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुको बैठकले बुटवल नगर क्षेत्रभित्रका सडक, सडक बत्ती, पार्किङ, ट्राफिक व्यवस्थापन, विद्युत्, खानेपानी, टेलिफोन तार तथा केवलहरु, छाडा चौपाया, ठेला, इरिक्सा व्यवस्थापनका लागि एकसाथ काम गर्ने गरी प्रतिवद्वता जाहेर गरिएको हो ।नगरप्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक र अन्य भित्री सडकहरु निर्माणलाई तीब्र पार्ने, विद्युत र खानेपानी पाइप विस्तारमा सहजीकरण गर्ने निर्णय गरेको छ ।
भित्री सडकहरु निर्माणमा थप तीब्रता दिने गरी डिभिजन सडक कार्यालयले समन्वय गर्ने र टेलिफोन, खानेपानी तथा विद्युतका तार तथा पाइप व्यवस्थापनमा सम्बन्धित कार्यालयहरुले तत्काल काम अघि बढाउने बैठकबाट निर्णय भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी गराएका छन् ।
मुख्य सडकहरुमा सवारी चालकलाई लेन अनुशासन पालना गराउने, आकाशे पुलको प्रयोग नगर्ने पैदलयात्रीलाई कारबाही गर्ने र सडक क्षेत्रको पार्किङ व्यवस्थापन गर्ने बैठकबाट निर्णय भएको छ ।
प्रशासकीय अधिकृत टेकराज पन्थीका अनुसार सडक क्षेत्रभित्र मालसामान राखेर बिक्री गर्ने, निर्माण सामग्री राख्ने र फोहोरमैला गर्नेलाई पहिलो चरणमा सचेत गराउने र अटेर गरेमा जरिबाना तिराउने सम्मका कारबाही गर्ने निर्णय गरिएको छ ।
बुटवलको मुख्य सडकको ८२ फुट क्षेत्रभित्र कुनैपनि सामग्री राख्ने, बिक्री वितरण गर्ने, व्यवसाय गर्ने र निर्माण सामग्री राख्ने गरेको पाइएमा सडक नियम अनुसार डिभिजन सडक कार्यालयले कानून बमोजिम जरिवाना गराउने र ८२ फुटभन्दा भित्रपट्टिको सडकको क्षेत्र या फुटपाथमा कुनै सामान राखेमा बुटवल उपमहानगरपालिकाले कारबाही गर्ने छ ।
बैठकबाट बुटवल नगरभित्र अव्यवस्थित रुपमा सडक क्षेत्रभित्र राखिएका ठेला व्यवस्थापनका लागि छिट्टै नै कार्यविधि बनाएर अघि बढाउने गरी सहमति भएको छ ।
बुटवल क्षेत्रभित्र विद्युतका पोल प्रयोग गर्ने र भाडा नतिर्ने केवल तथा इन्टरनेट सेवा प्रदायकहरुका तार हटाउनका लागि विद्युत प्राधिकरणलाई सहयोग गर्न आग्रह गरिएको छ ।
बैठकमा बुटवलका नगरप्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत,विद्युत प्राधिकरण बुटवलका सुरेशकुमार महतो, सडक डिभिजन बुटवलका होमबहादुर एसी, ट्राफिक सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका बाबुराम बस्नेत, ज्ञानु पाण्डे, खानेपानी संस्थान बुटवलका मोहनदत्त भट्ट, सडक डिभिजनका महेश्वर लम्साल,बुटवल उपमहानगरपालिकाका गौतम रौनियारलगायतको उपस्थिति रहेको थियो ।