बुटवलका डिएसपी ठगबहादुर सुन र नगदसहित पक्राउ

बुटवल, पुस ११ गते। बुटवलका डिएसपी ठगबहादुर केसी सुन र नगदसहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठगबहादुर केसी प्रहरीकै अनुसन्धान टोलीले उनकै निवासबाट नियन्त्रणमा लिएको हो ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार सांझ डिएसपी केसीलाई निवासबाटै नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार डिएसपी केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयां नगदसमेत बरामद भएको प्रहरी स्रोतको भनाइ छ ।

केसीले सुन नियन्त्रणमा लिई व्यापारीसंग २५ लाख रुपैया मागेको आरोप छ । व्यापारीले २५ लाख रुपैया बुझाए पनि सुन फिर्ता लिन नपाउंदै डिएसपी ठगबहादुरलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो ।

उनलाई थप अनुसन्धान गरी कारवाही अघि बढाउने प्रहरीले बताएको छ ।