चिसोसंगै शितलहरले तराईको जनजीवन कष्टर

बुटवल, पुस १८ गते । तराईका जिल्लामा चिसो बढेको छ । चिसोसंगै रुपन्देहीमा शीतलहर सुरु भएको छ । यसले जनजीवन कष्टकर बनाएको छ ।सोमबार बिहानैदेखि तराईका सबैजसो जिल्लामा शीतलहर चलेको छ ।सोमबार बिहानबाट बाक्लो हुस्सुसंगै शित परेपछि जनजीवन थप कष्टकर बन्दै गएको हो ।
चिसो तथा शितलहरका कारण भैरहवाको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ ।सर्वसाधरण बिहान सबेरै उठेर दैनिक गतिविधि गर्न कठिन भइरहेको छ ।सांझबिहान हिड्ने नागरिक सडकमा देखिन छोडेका छन् ।चिसोसंगै शितलहरका कारण रुघाखोकी र ज्वरोका विरामी बढन् सक्ने भन्दै सचेत हुन चिकित्सकहरुले आग्रह गरेका छन् ।
चिसोका कारण सडकमा सवारीका साधन कम गुडेका छन् । सिमसिमे पानी जस्तो शित परेसंगै चिसो हावा चलेको छ । सवारी साधन चलाउंदा दिउंसोमा पनि लाइट बालेर चलाउनु पर्ने अवस्था छ ।
दैनिक ज्याला गरी कमाउने मजदुर, जेष्ठ नागरिक चिसोले प्रभावित भएका छन् ।रुपन्देही र बर्दियासंगै पश्चिम नवलपरासी, कपिलवस्तु र बांकेमा पनि चिसो ह्वात्तै बढेको छ ।
यस्तै जाडो बढेपछि कपिलवस्तुका २ पालिकाका विद्यालय बन्द गरिएको छ। यशोधरा र सुद्धोधन गाउपालिका विद्यालयमा बिदा दिइएको हो। एक सातासम्म शीतलहर चलेपछि जाडो बढेकाले पठनपाठनमा समस्या आएको भन्दै सरकारी र नीजी विद्यालय बन्द गरिएको छ। यशोधरा गाउंपालिका मा १४ दिन र सुद्धोदन गाउपालिकामा १० दिनका लागि बिदा गरिएको छ । जाडोसंगै शितलहर बढेपछि पुस ३० गते सम्मका लागि विद्यालयमा बिदा दिइएको यशोधरा गाउंपालिकाका प्रमुख प्रशाकीय अधिकृत तेजबहादुर सिंहले जानकारी गराउनुभएको छ ।
यशोधरा गाउपालिकामा पुस १७ देखि पुस ३० सम्म र सुद्धोदन गाउपालिकामा पुस २० देखि पुस ३० सम्म विद्यालय बन्द गरिएको छ। जाडो र शीतलहरलाई मध्यनजर गर्दै बिदा गरिएको सुद्धोदन गाउपालिका प्रमख कमलेश शरण चौधरीले बताए ।
जाडोका कारण विद्यालयहरुमा विद्यार्थीको न्युन उपस्थिति भएपछि विद्यालयहरु बन्द गरिएको हो ।
यता जाडो बढेपछि रुपन्देहीको रोहिणी गाउंपालिका भित्रका विद्यालयहरु ६ दिनका लागि बन्द गरिएको छ ।
जाडो बढेकाले बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरी भोली पुस १९ देखि पुस २४ गतेसम्म सबै सामूदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने निर्याय भएको गाउंपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो । गाउंपालिकाले सोमबार सूचना जारी गर्दै मौसम प्रतिकुल भइ जाडो बढेकाले वर्षे विदाबाट कट्टी हुने गरी ६ दिन विद्यालयहरु बन्द रहने जनाएको छ ।