सम्झनामा पृथ्वी नारायण शाहा

बुटवल, पुस २७ गते । आज राष्ट्रिय एकता दिवस, अर्थात् नेपाल एकीकरण गर्ने तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती । उनको विशेष सम्झनामा आज विभिन्न कार्यक्रम गरी मनाईदै छ । लोकतन्त्र स्थापनापछि पृथ्वी जयन्तीको अवसरमा सरकारले आज पुस २७ गतेका लागि सार्वजनिक विदा दिएको छ ।
बाईसे चौविसे राज्यमा विभाजित रहेको नेपाललाई एकीकरण गरेका पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर पुकार्ने गर्दछन् । देश संघीय संरचनामा गईसकेको अवस्थामासमेत सर्वसाधारणले पृथ्वीजयन्तीलाई अझै महत्वका साथ लिएको पाईन्छ ।
नेपाली नेपालीको वीचमा विभिन्न जातजाती र भाषाभाषीको नाममा विभाजित भईरहेको अवस्थामा पृथ्वी नारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । यी दिव्य उपदेश पढ्दा उनी दूरदर्शी राजा हुन् भन्ने प्रष्ट हुन्छ । पृथ्वीनारायण शाहको दिव्य उपदेश त्यो बेलाकै भाषामा पढ्न पाइन्छ ।
पृथ्वीनारायण शाहालाई राष्ट्रिय एकताका प्रतिक भनिरहंदा कतिपयले भने उनले आफ्नो साम्राज्य विस्तार गर्दै एकछत्र शासन गर्न आफुभन्दा कमजोर राज्यहरुमाथि आक्रमण गरी आफ्नो राज्य विस्तार गरेको भन्दै पृथ्वीनारायण शाहाको बिरोध पनि गर्ने गरिएको छ ।
पृथ्वी नारायण शाह
“घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन “

“नेपाल दुई ढुङ्गाबिचको तरुल हो“

यस्ता दिव्योपदेशका दूरगामी तथा अर्थपूर्ण सरल परिभाषा अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।

पृथ्वी नारायण शाहको कुरा गर्दा यिनका साहसी सेनानीहरू कालु पाण्डे लगायतलाई इतिहासले बिर्सन हुँदैन ।कीर्तिपुर युद्धमा पृथ्वी नारायण शाहका दाहिने हात मानिएका कालु पाण्डेले वीर गति प्राप्त गरेका थिए । अन्त्येष्टि पश्चात् ससम्मान काठमाडौँ थानकोट नजिक इन्द्र दहमा उनको समाधि अझै पनि त्यही ठाउँमा रहेको छ । आधुनिक नेपालको खाका कोर्ने यिनै राजाले नै गोर्खामा देखेको काठमाडौँको सपनालाई सिङ्गो नेपालमा रूपान्तरण गर्दै नेपालमा शाहवंशको इतिहासको नयाँ आयाम प्रादुर्भाव गरेका हुन् । विक्रम संवत् १८३१ मा मृत्यु भएका यी दूरगामी शासकका छोरा प्रताप सिंह लगायत क्रमशः शाह सन्ततिका शासकहरूले विक्रम संवत् २०६३ को जनआन्दोलनको माग अनुरूप शासन सत्ताबाट अपदस्थ गराई गणतन्त्रात्मक नेपाल स्थापित गराइएको हो ।

पृथ्वी नारायण शाहका सालिकहरू नेपालका धेरै सहरहरू अनि चोकहरूमा छन् । प्रायः चोर औँला माथि उठाएर उभिएका स्वरूपमा देखिने यिनको सालिक तथा तस्बिरले नेपाली जनलाई सदैव एकताको शिक्षा दिई रहेको छ, दिइरहने छ । काठमाडौँ र गोरखा बिचमा पर्ने नुवाकोट भूभागलाई जितेर काठमाडौँ छिरेका यिनले काठमाडौँको उत्तरपट्टि रहेको चन्द्रागिरि डाँडाबाट जब काठमाण्डौको खाडललाई नियाले त्यस क्षण काठमाडौँको सौन्दर्यले पृथ्वी नारायण शाहलाई लालहित बनाएको थियो । रण कौशलमा कुशल यी राजाले छापामार शैली अनि रणनीतिहरू लगाएर क्रमशः काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर अनि अन्य भूभागहरू जितेका हुन् । परराष्ट्र मामिलामा पनि यिनको कुशल कूटनीति बडो रोचक र प्रेरणादायी छ ।

भक्तपुरको राजपरिवारसँग मितेरी साइनो
भक्तपुरको राजपरिवारसँग मितेरी साइनो गाँसेर पनि आक्रमण गरी विजय प्राप्त गरेकाले अवसरवादीको आरोप पृथ्वी नारायण शाह माथि लागेको छ । तैपनि राजनीति र युद्धको आधारभूत संरचनामा सम्बन्ध भन्दा पनि राष्ट्रियताले निर्देशित राष्ट्रसेवक र योद्धाका रूपमा सदैव नेपाली हृदयमा रहनेछन् ।

युद्धका क्रममा धेरै पटकको पराजय पछि विजय भएकोमा रिसले कीर्तिपुर वासीका नाक कान काटिदिने आदेश दिएका पृथ्वी नारायण शाहको आज सम्म पनि कीर्तिपुरबासीले पुराना क्रूरताका कथाहरू भन्दछन् । जे होस् आधुनिक नेपालका यी रचयिताको आजको जन्मदिनमा सम्पूर्ण नेपालीहरू समक्ष एकता र मेलमिलाप मिश्रित अमर भावको विकास होस् । एउटा कुरा भने स्पष्ट छ कि यदि पृथ्वी नारायण शाहले उतिखेर नेपाली एकताको कसरतमा हार मानेका या विफल नै भएका थिए भने आज स्वतन्त्र अनि सार्वभौम नेपाल पक्कै हुने थिएन ।

सदन अनि सडक दुवैतर्फ अहिले लोकतन्त्र अनि शक्तिको विकेन्द्रीकरण नाराहरू छन् तथापि यी सबै संरचना अनि पृष्ठभूमि तयार गरिदिने मान्छेलाई भने कहिँकतै देश अनि देशवासीले भुल्न पो आँटेका हुन कि भन्ने भान सबैलाई भएको छ ।
राष्ट्रिय एकता दिवस
आजको दिनलाई राष्ट्रियताको एउटा ऐतिहासिक आयाम दिँदै देशैभर राष्ट्रिय एकता दिवसका रूपमा पनि मनाइने गरिन्छ । हरेक वर्षको पृथ्वी जयन्तीले राष्ट्रिय एकता दिवसका रूपमा सबै नेपाली जनलाई ऐक्यबद्ध हुन सन्देश दिने गर्दछ ।