चन्दा उठाएर प्यूठान विजुलीका सुरजको पोखरामा निःशुल्क उपचार

खेमराज पोखरेल
प्युठान, फागुन ४ गते । गत २०७९ मंसिर १९ गते भारतको पञ्जाव अमृतसरमा कारको ठक्करबाट दायाँ खुट्टा भाँचिएको थियो । प्यूठान ऐरावती–६ विजुली थामका सुरज दमाईंको ।
आर्थिक अवस्था कमजोर भएका सुरजको २०७९ माघ ५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पताल पोखरामा निःशुल्क शल्यक्रिया गरेपछि अहिले उनले नयां जीवन पाएका छन् ।
खुट्टा भाँचिएर घाइते भएका सुरजलाई भाँचिएको हाड खप्टिएकै अवस्थामा प्लाष्टर गरेर पञ्जाबबाट घरमा ल्याइएको थियो । विपन्न तथा असहाय नीज घाइते अलपत्र परेको अवस्थामा स्थानीय अभियन्ता खेमराज पोखरेलको अगुवाईमा रामप्रसााद पोखरेल र नारायणबहादुर थापा सहितको टोलीले चन्दा संकलन गरी डा.राजेन्द्र पौडेलसँगको सरसल्लाहमा उक्त अस्पतालमा पु¥याइएको थियो ।
पीडित घाईतेको आर्थिक अवस्था कमजोर भएको देखेपछि डा. राजेन्द्र पौडेलको सक्रियतामा अस्पतालबाट स्वास्थ्य तथा औषधी उपलब्ध गराई डा. झपिन्द्र पोखरेलको टीमद्वारा उनको निःशुल्क शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियाको लागि आवश्यक इम्प्लान्टको ब्यवस्था पनि राजेन्द्र पौडेलले नै सहयोग गरेका थिए ।
शल्यक्रिया भएको १४ दिन र अस्पताल भर्ना भएको १९ दिनपछि माघ १९ मा अस्पतालबाट डिस्चार्ज भएका सुरजको अहिले खुट्टा निको हुँदै गएको छ ।
हाल घरमै स्वास्थ्यलाभ लिइरहेका सुरजले खमेराज पोखरेल, रामप्रसााद पोखरेल र नारायणबहादुर थापा र डा. राजेन्द्र पौडेलका कारण नयां जीवन पाएको बताए ।
उपचार गर्ने पैसा र सहारा दिने अभिभावक कोही पनि नभएको अवस्थामा स्वास्थ्य सेवा दिएर नयां जीवन दिनु भनेको मानवीय धर्म भएको मल्लरानी गा.पा.–३ बर्बोट अर्गेली डा. राजेन्द्र पौडेलले बताए ।
यसभन्दा अघि पनि डा. राजेन्द्र पौडेलले सुरज जस्तै थुप्रै विपन्न तथा असहाय नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिसकेका छन् ।