स्व. लिला अर्यालको स्मुतिमा सिमली फाउण्डेशनद्दारा रक्तदान

बुटवल, असार २६ गते । सिमली फाउण्डेशन नेपालले मंगलबार बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदानसंगै स्व. लिला अर्यालको एक वार्षिकीको दिन स्मृति सभा पनि गरिएको हो । सिमली फाउण्डेशनकी सञ्चालक स्व. लिला अर्यालको वार्षिक स्मृतिमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ ।

मानवीय सेवा नै धर्म हो भन्ने मान्यतालाई आत्मसाथ गरेर रक्तदान कार्यक्रम आयोजना गरिएको समिली फाउण्डेशनका अध्यक्ष महेन्द्र अर्यालले बताए । कुनै मठ मन्दिरमा गएर मात्र धर्म नहुने र मानवीय धर्म नै मानव जीवनका लागि सबै भन्दा ठूलो धर्म हुने विश्वासका साथ स्व. श्रीमती लिला अर्यालको स्मृतिमा रक्तदान गरिएको उनले बताए ।

रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । समिली फाउण्डेशनले स्व. लिला अर्यालको स्मृतिमा गुल्मी मदाने गाउंपालिकाको सिर्सेनीस्थित रियाले माध्यमिक विद्यालयलाई र दुर्गा भवानी मन्दिरलाई २२ रोपनी जग्गा सहयोग गरेको छ । रियाले माध्यमिक विद्यालयलाई १७ रोपनी र दुर्गा भवानी मन्दिरलाई ५ रोपनी जग्गा दान तथा सहयोग गरिएको हो । 

स्व. लिला अर्यालको स्मृतिमा सिमली फाण्डेशनले रियाले माध्यमिक विद्यालयका लागि २ लाख २ हजार २ सय २२ रुपैंयाको अक्षय कोष स्थापना गरेको छ । त्यस्तै गरिब तथा जेहेन्दार विद्यार्थीका लागि २० हजारको छात्रावृत्ति प्रदान गरिने फाउण्डेशनका सल्लाहाकार संयोजक डवल विसीले जानकारी गराए ।

लिला अर्यालको निधन भएकै एक वर्ष पुगेको दिन २०८० असार २६ गते नै गुल्मी मदानेस्थित पुर्खौली गाउं सिर्सेनीको काफपाटामा बरपिल रोपिएको छ ।
स्थानीय जनप्रनिधि तथा वडा अध्यक्ष चेतबहादुर शेन, पूर्व वडा अध्यक्ष नारायणबहादुर घर्ती, शिक्षक हेमराज अर्याल, शिवहरि अर्याल, समाजसेवी टेकराज भुसाल लगायत स्थानीयको सहभागितामा स्व. लिला अर्यालको स्मृतिमा बर र पिपल रोपिएको हो ।